logo-img

प्रतिशोधको राजनीति आफू पनि गर्दिनँ, अरूले गरे पनि सहन्न : प्रधानमन्त्री ओली
'संविधान संशोधन रहर हाेइन आवश्यकता'

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्ताबेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राखेकाे प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने बताए । 

'संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो,' प्रधानमन्त्री ओलीले भने, 'कुनै आग्रह-पूर्वाग्रह राखेर संविधान संशोधन यस्तो-उस्तो गर्ने भन्दैनौँ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यही गर्नुपर्छ ।'

संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गरे । 'संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन । पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन । जो जसका जे जस्ता विचारधारा भए पनि हामी एक ठाउँमा आउन सक्छौँ । यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ,' उनले भने ।  

देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहनेगरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवद्र्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले बताए ।

संसदमा आएका राम्रा सुझाबलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले बताए । त्यस्तै, भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उनले बताए । 





  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया