logo-img

इजराइलद्वारा एकैदिन दुई आक्रमण : हुथी विद्रोहीमाथि प्रहार, यमनको क्षेप्यास्त्र खसाल्यो

इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी लक्ष्यहरूमा आक्रमण गरेको केही घन्टापछि आइतबार बिहानै यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई रोकेको इजराइली सेनाले बताएको छ । 

तेल अभिवमा घातक हुथी ड्रोन आक्रमणको जवाफमा इजराइलले हवाई आक्रमण गरेको थियो । इजराइलले हमासविरुद्धको आफ्नो नौ महिनाको युद्धका क्रममा बारम्बार हुथी आक्रमणहरूको जवाफ दिएको यो पहिलोपटक थियो ।

टाढाका शत्रुहरूबीचको हिंसाको विस्फोटले यस क्षेत्रमा इरानी प्रोक्सीहरूको शृंखलासँग लड्ने क्रममा इजराइलले नयाँ मोर्चा खोल्ने धम्की दिएको छ । 

इजराइली सेनाले शनिबार राति हुथीको गढ रहेको पश्चिमी यमनी बन्दरगाह सहर होदेइदाहमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ । सयौँ हुथी आक्रमणको जवाफमा अमेरिका–निर्मित एफ–१५ र एफ–३५ युद्धक विमानहरूमार्फत आक्रमण गरिएको सेनाले बताएको छ । 

इजराइलले अमेरिका, बेलायत र यस क्षेत्रमा अन्य पश्चिमी सहयोगीसँग मिलेर करिब सबै हुथी क्षेप्यास्त्र र ड्रोनहरूलाई रोकेको छ । तर, शुक्रबार बिहानै एउटा हुथी ड्रोन इजराइलको हवाई प्रतिरक्षामा प्रवेश गरेर इजराइलको व्यावसायिक तथा सांस्कृतिक राजधानी तेल अभिवमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको थियो । 

इजराइली सेनाले शनिबारको आक्रमण इजराइलबाट करिब एक हजार सात सय किलोमिटर आफ्नो हवाई सेनाले सबैभन्दा जटिल र सबैभन्दा लामो दूरीको कारवाहीमध्येको एक थियो भनेको छ । सेनाले यमनमा इरानी हतियार पुर्याउन प्रयोग गरिने बन्दरगाहमा आक्रमण गरेको बताएको छ । 



सानाको स्वास्थ्य मन्त्रालयले होदेइदाहमा भएको आक्रमणमा प्रारम्भिक संख्यामा ८० जना घाइते भएको र तीमध्ये अधिकांश गम्भीर रूपमा जलेको बताएको छ । इजराइली आक्रमणबाट सहरको बन्दरगाहमा भीषण आगो लागेको थियो । 

‘अहिले होदेइदाहमा लागिरहेको आगो पूरा मध्यपूर्वमा देखिएको छ र यसको महत्त्व स्पष्ट छ,’ इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले भने । उनले आवश्यक परे कुनै पनि स्थानहरूमा यस्तै प्रकारका आक्रमण गरिने वाचा गरे । 



अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणलगत्तै गाजामा जारी इजराइली आक्रमणपछि हमाससँग ऐक्यबता जनाउँदै इजराइलमाथि आक्रमण गर्ने धेरै इरानी समर्थित समूहमध्ये हुथी पनि एक हो । 

हमाससँग लड्नेबाहेक इजराइली सेना लेबनानमा हिजबुल्लाह लडाकू समूहसँग दैनिक झडपमा संलग्न भएको छ । झडपहरूले लडाइँ लेबनान र त्योभन्दा बाहिर पूर्ण युद्धमा परिवर्तन हुनसक्ने चिन्ता बढाएको छ ।

  • प्रकाशित मिति : साउन ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया