logo-img

झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसै वर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ ।

थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । 

लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरूको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । 

थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए । उनका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । 

यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । 

वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा १ हजार ५ सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भने, ‘सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।’ 



काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी १ सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका १ हजार ५ सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ ।

चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताए ।



गाउँपालिकाले चियाखेती विस्तारका लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छ भने रेश र धम्जाका सामुदायिक  विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । 

रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रासस 

  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया