logo-img

त्रिशूली बस दुर्घटनापछि त्यहाँ कसरी गर्दै छ सरकारले काम ? यस्तो छ संसदमा प्रधानमन्त्रीको जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २८ गते त्रिशूलीमा भएको बस दुर्घटनाबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको जवाफ दिँदै उनले उक्त दुर्घटनामा परेर हराएकामध्ये हालसम्म २५ जनाको शव फेला परेको जानकारी दिए । 

‘फेला परेकामध्ये १८ जनाको सनाखत भएको छभने सातजनाको सनाखत हुन बाँकी छ । आजको मितिमा नेपाली सेना १४, नेपाल प्रहरी ५६ र सशस्त्र प्रहरी बल नेपालका एक सय २६ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका छन् भने यही साउन ५ गतेदेखि १२ जना भारतीय गोताखोरहरू समेत परिचालन गरिएको छ’, प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले शव बगेर भारतीय भूमिमा समेत पुगेको अनुमान गरिएकाले भारतको पश्चिम चम्पारनस्थित स्थानीय प्रशासनमार्फत शव खोजीका लागि भारतीय दूतावासमार्फत अनुरोध गरिएको बताए । चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र भारतीय भूमिमा गरी हालसम्म २५ शव फेला परेका बताउँदै उनले बस दुर्घटना भएको स्थल र सोको आसपासको क्षेत्रलाई मुख्य केन्द्रविन्दु बनाई खोजी कार्य गरिएको उल्लेख गरे ।

नदीले बगाएका शवहरू भेटिन सक्ने सम्भावित स्थलहरू चितवन, नवलपसारी पूर्व, नवलपरासी पश्चिम र भारतको पूर्वी चम्पारनसम्म खोजी कार्य भइरहेको प्रधानमन्त्री ओलीले जानकारी गराए । ‘धमिलो पानी, नदीमा जलसतको उच्च गति र ३०–४० मिटर गहिरो नदीका कारण खोजी कार्यमा अपेक्षित सफलता मिल्न सकेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘उपलब्ध प्राविधिक उपकरण, जनशक्तिको सम्पूर्ण सामर्थ्य प्रयोग गरी सुरक्षा निकाय परिचालन, स्थानीय प्रशासनद्वारा स्थानीय नागरिकको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।’

सार्वजनिक यातायात तथा सडक सुरक्षा सुनिश्चित गर्न सरकारले सडक सुरक्षा विधेयकको तयारी गरी अन्तिम रुप दिने चरणमा रहेको जनाउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय यातायात नीति हालै मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको बताए ।

सडक सुरक्षाको संवेदनशीलता र यसमा सम्बन्धित क्षेत्रका सरोकार भएकाहरूको आबद्धता जरुरी भएकाले राष्ट्रिय सडक सुरक्षा परिषद्लाई कानुनबमोजिम व्यवस्थित गरी प्रभावकारी कार्यान्वयन गर्ने गरी नीतिगत तथा कानुनी व्यवस्था गरिने उनले उल्लेख गरे ।  





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया