logo-img

न्युरोड सडकपेटी विस्तार : एमालेमा जितको खुसियाली, बालेनको सुझबुझ कि हार ?
वडा नम्बर २२ का अध्यक्ष चिनिकाजीले भने– जनताको जित भयो

काठमाडौं महानगरपालिकाले न्युरोडमा सुरु गरेको फुटपाथ विस्तार अभियान स्थगित भएपछि वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जनताको जित भएको बताएका छन् । महानगरसँग मंसिर २ सम्म फुटपाथ विस्तार सहमति गरेपछि उनले न्युरोड पुगेर कोणसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । 

‘आज साँच्चै जनताको जीत भएको छ । जनता हार्दैन भन्ने स्थापित भएको छ,’ कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘डेमोक्रेसीमा जनताले चाहेको र खोजेको मात्रै हुनुपर्छ भन्ने भाष्य स्थापित भएको छ ।’ कोणसभामा वडाध्यक्ष महर्जनलाई ‘न्युरोड आन्दोलनका नायक’ सम्बोधन गरिएको थियो । 

व्यापारिक केन्द्र न्युरोडलाई नाकाबन्दी गर्ने उद्देश्यले सडकपेटी सुधारका नाममा योजना ल्याइएको उनको आरोप थियो । ‘सडकपेटी विस्तारको नाममा सडक खुम्च्याउने योजना ल्याइएको हो,’ उनले भने, ‘अब २२ नम्बर वडाको क्षेत्रमा कार्यदल बनाएर अध्ययनपछि आउने प्रतिवेदनको सिफारिसअनुसार मात्रै काम हुने भएको छ ।’

आफूहरुले कुनै पनि कार्यअघि अध्ययन गर्नुपर्छ भन्दै आएको तर महानगरले पेलेर अघि बढेको उनको दाबी छ । जनताको माग र आवश्यकतालाई मध्यनजर गरेर मात्र विकासको कार्य थालनी गर्नुपर्नेमा उनले जोड दिए । 

उनले सो आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिए । ‘न्युरोडको जनतालाई घाउ हुँदाखेरि अहोरात्र खटिनुभएका अन्य वडाका साथीहरुलाई सम्पूर्ण न्यूरोडवासीका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो गुन सधैँ सम्झिनेछौं । भोलिका दिनमा सम्झौता तोडमोड भयो या पालना भएन भने यहाँहरुलाई सम्झिनेछु ।’

बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धर तथा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र २३ का अध्यक्ष मचाराजा महर्जनसहितको टोलीबीचको वार्ताबाट तत्कालका लागि फुटपाथ विस्तार रोक्ने सहमति भएको हो ।



सोमबार न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । सुमनराज भण्डारीको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा तत्काल फुटपाथ विस्तार नगर्ने सहमति जुटेको हो । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।



अहिले वडा नम्बर २४ मा भइरहेको विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको छ । कार्यदलले अध्ययन गरेर महानगर प्रमुखलाई प्रतिवेदन बुझाएपछि फुटपाथ विस्तारबारे निर्णय लिइने वडा नम्बर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।

नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत ११ जेठदेखि काम थालेको थियो । उक्त काममा १२ जेठमा डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेप गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि १३ र १६ जेठमा गरी दुईवटा पत्र पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर २७ जेठमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नं. २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०–८१ को बजेटबाट फुटपाथ (सडक पेटी) विस्तार गर्ने योजनाअनुरूपको कार्य सञ्चालन गर्नका लागि अन्तरिम आदेश माग गरेको थियो । 

गत असार ३० मा उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएको थियो । उच्चको आदेशपछि काठमाडौं महानगरपालिकाले नयाँ सडकमा फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन सुरु गरेको थियो । 


बालेनले फुटपाथ बढाउन खोज्दा भौतिक पूर्वाधारमन्त्री महासेठ र ओलीले त्यसको विरोध गरेका थिए । आफ्नो योजनामा सडक विभागले भाँजो हालेपछि मेयर बालेन एमालेका अध्यक्ष केपी ओलीमाथि खनिएका थिए । 

सडकका विषयमा मतभेद भएपछि दबाब दिन काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्याएको थियो । 

उक्त घटनापछि मेयर बालेन र एमाले नेता तथा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको सम्बन्ध मात्रै चिसिएन पार्टी अध्यक्ष ओली र बालेनबीच नै दरार उत्पन्न भएको हो । बालेन र ओली एक अर्काप्रति आरोपप्रतिआरोपमा उत्रिँदै आएका थिए । ओलीले बालेनलाई कुनै सभ्यता नै नभएको भनेर टिप्पणी गरेका थिए । मेयर बालेनले पनि ओलीप्रति भ्रष्टाचारको आरोप लगाएका थिए । 

बालेनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भन्दै विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको हो । 

बालेनको उक्त कदमपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भनेका थिए, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्याबात् लेख्छ । अनि अरू चुप लागेर बस्छन् झोक्राएर । यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’

त्यसको प्रतिक्रियामा बालेनले सामाजिक सञ्जालबाट ओलीलाई ‘जेल जानुपर्ने दिन आउन सक्ने’ सम्मको चेतावनी दिएका थिए । मेयर बालेनले ओलीले आफ्ना कर्तुत लुकाउन लागिपरेको बताए । सामाजिक सञ्जालमा उनले स्टाटस लेखे, ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन जनतामा भ्रम नछर्नुहोस् ।’ 

ओलीको सहमतिविना गिरिबन्धु घोटाला हुनै नसक्ने बालेनको ठम्याइ थियो । बालेनले भनेका थिए, ‘ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

ओलीप्रति बालेनको प्रहार यतिमै रोकिएन । मनसुन लागेसँगै काठमाडौंमा बाढी आएर सुकुम्बासी बस्ती डुबानमा परेपछि बालेनले फेरि ओलीमाथि कटाक्ष गरेका थिए । जतिबेला ओली र कांग्रेस सभापति देउवाबीच सत्तासमीकरणको सहमति भइसकेको थियो । ओलीलाई लक्षित गर्दै उनले काठमाडौंमा खोला बस्तीमा नपसेको बस्ती खोलामा बसेको बताउँदै यसरी खोला छेकेर बसेका १५ हजार व्यक्तिलाई गिरीबन्धुमा व्यवस्थापन गर्न सकिने भनेर कटाक्ष गरे । ओलीले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै उनले अर्को ३० वर्ष पनि झुलाउने सोच बनाएको हो ? भन्दै प्रश्नसमेत गरेका थिए । 

‘आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ’,’ बालेनले सामाजिक सञ्जालमा लेखे, ‘अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

बालेनले काठमाडौंको सुकुम्वासी बस्तीमा बाढी पस्दा ओलीलाई भने, ‘काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

एमाले र कांग्रेसबीच सरकार बन्ने कुरा बाहिरिँदा नै बालेनले भ्रष्टाचार गर्नकै लागि नयाँ सहमति गरेको आरोप लगाएका थिए । एमाले–कांग्रेसबीच सहमति जुटेको खबर बाहिरिएपछि उनले लेखे,  ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

अहिले तिनै ओली देशको प्रधानमन्त्री बनिसकेका छन् । ओलीले संसदबाट आइतबार मात्रै दुईतिहाइभन्दा बढी विश्वासको मत पनि पाइसकेका छन् । त्यसको भोलिपल्टै महानगर आफ्नो अडानबाट पछि हटेर आगामी चार महिनासम्म सडकपेटी विस्तारको काम रोक्न सहमत भएको छ । 

यसरी सहमतिमा आउनुलाई अधिकांशले मेयर साहको सुझबुझपूर्ण निर्णयका रूपमा लिएका छन् भने एमाले समर्थक कतिपयले यसलाई बालेनको हार र एमालेको जितका रूपमा अथ्र्याएका छन् । 

  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया