logo-img

लुम्बिनीमा प्रधानमन्त्रीको हस्तक्षेप : दलका नेता गिरीलाई पछि पार्दै आचार्य यसरी बने मुख्यमन्त्री
दलका नेता गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि केन्द्रको निर्देशनपछि आचार्य बने मुख्यमन्त्री

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेस भएको थियो । एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बनेका हुन् । यसअघि गिरी केही महिना मुख्यमन्त्री बनेका थिए । तर, राष्ट्रपति निर्वाचनपछि केन्द्रमा गठबन्धन फेरिएसँगै उनले राजीनामा दिएका थिए । 

एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन आएको रकेन्द्रीय अध्यक्षबाट नै निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको बताए। 

यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्का भएको बताइएको थियो । तर, गुटगत लडाइँका कारण गिरीलाई पछि पार्दै अर्घाखाँचीका आचार्य मुख्यमन्त्री बनेका हुन् ।

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच गुटगत प्रतिस्पर्धा छ । गिरी पौडेल पक्षका हुन् भने आचार्य पोखरेलसँग नजिक छन् । 

लुम्बिनी एमालेमा जिल्ला र प्रदेश अधिवेशनका क्रममा पनि चर्को विवाद देखिएको थियो । जिल्लामा पोखरेल समूहले बर्चस्व कायम गरेको थियो भने प्रदेशमा पौडेल हावी भएका थिए ।



एमले उपाध्यक्ष विष्णु पौडेल अहिले केन्द्रीय अर्थमन्त्री छन् । महासचिव शंकर पोखरेल भने अहिले सांसद पनि छैनन् । उनलाई गत आमनिर्वाचनमा माओवादीकी नेत्री रेखा शर्माले दाङबाट हराएकी थिइन् । पोखरेलको दबाबमा प्रधानमन्त्री ओलीले उनीपक्षधर आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको बुझ्न कठिन छैन । एमालेभित्रको शक्ति सन्तुलनका कारण गिरी संसदीय दलको नेता भएर पनि मुख्यमन्त्री बन्न पाएनन् ।  

अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। 



को हुन् मुख्यमन्त्री आचार्य ?

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका चेतनारायण आचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको कोखबाट २०२५ जेठ २१ गते जन्मिएका हुन् । 

चेतनारायण आचार्य ११ वर्षको उमेरदेखि अनेरास्ववियुमा संगठित भएका थिए । उनका पिता टीकाराम अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकाले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आबद्ध भएका हुन् । 

विसं २०४० मा अनेरास्ववियु जिल्ला कमिटी, अर्घाखाँचीको सदस्यमा निर्वाचित भएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनका क्रममा बुटवल गए । त्यहाँ उनी अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको अध्यक्ष र जिल्ला कमिटी सदस्य भए । अर्घाखाँची फर्किएपछि उनले २०४६ सालमा इलाका कमिटी सदस्य, उपसचिव, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यका रुपमा ७ वर्ष काम गरे । 

विसं २०५४ को पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित भए । विसं २०५४ पछि चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखका रूपमा काम गरे । 

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं १ बाट पराजित आचार्य विसं २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिए । विसं २०६९ मा भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित आचार्यले नौ वर्ष पार्टीको जिल्ला प्रमुखको रूपमा काम गरे । 
 
विसं २०७४ का भएको प्रदेशसभा सदस्य निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्यले आन्तरिक मामिला तथा कानुनमन्त्रीको कार्यभार सम्हाले । विसं २०७८ मा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँचीको सहइञ्चार्जको जिम्मेवारीमा रहे । 

विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका विरुद्ध प्रतिस्पर्धा गरी अर्घाखाँची प्रदेश क्षेत्र नं १ बाट निर्वाचित आचार्य एमाले संसदीय दलको उपनेता भए । उनले यसअघि सहरी विकास तथा खानेपानी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 

कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालीन भई काम गरिरहेका छन् । विभिन्न आन्दोलनमा जेल जीवनसमेत व्यतीत गरेका आचार्यले क्यान्सरलाई जितेर पार्टी काममा क्रियाशील भएका हुन् । 

पार्टी संगठनको काममा निरन्तर क्रियाशील कुशल संगठन आचार्य पार्टी कार्यकर्ताबीच लोकप्रिय र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनका एक दाजु, दुई भाइ, दुई दिदी र एक बहिनी छन् । 

आचार्यकी जीवनसंगिनी दीपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यका रूपमा क्रियाशील छिन् । उनका एक छोरा र एक छोरी छन् । 

  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया