logo-img

सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा नेपाल, आज उपाधि दाबेदार भारतसँग भिड्दै

श्रीलंकामा जारी नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियागितामा नेपालले समूह चरण्को अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल मंगलबार राति सवा ७ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा पुग्न नेपाल भारतविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराए पनि नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भयो । पहिलो खेलमा यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गर्‍यो ।

उक्त खेलमा सम्झना खड्काले ४५ बलमा अविजित ७२ रनको इनिङ खेलिन् । दोस्रो खेलमा पाकिस्तानविरुद्ध भने उनले ५ बलमा एक चौकासहित ४ रन मात्र बनाइन् । पाकिस्तानविरुद्धको खेलमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनायो ।

नेपालका लागि कविता जोशीले २३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाइन् । नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

बलिङमा नेपालका लागि कविता जोशीले मात्र एक विकेट लिन सकिन् । नेपाल अहिले दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन भारत भने एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । उसले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले तथा दोस्रो म्याचमा यूएईलाई ७८ रनले हराएको थियो ।

एसिया कपमा हालसम्म नेपाल र भारतले एक खेलमा एकअर्काको सामना गरेका छन् । यी दुई टिमबीचको पहिलो भेट सन् २०१६ को एसिया कपको भएको थियो, उक्त खेलमा भारतले दिएको १२१ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल २१ रनमै अलआउट भयो । र, नेपालले ९९ रनको हार बेहोर्यो । नेपाली टिम मंगलबार उक्त ८ वर्षअघिको फराकिलो हारमा केही सुधार गर्ने योजनामा छ । नेपाल भारतविरुद्ध जितका लागि भन्दा पनि राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछ । 



८ संस्करण सकिँदा हालसम्म भारतले सर्वाधिक सातपटक एसिया कपको उपाधि जितेको छ । ऊ सबै संस्करणको फाइनलमा पुगेको छ । हाल भारत आइसिसी टी–२० वरीयतामा तेस्रो र नेपाल २१औँ स्थानमा छ ।

भारतविरुद्ध नेपालले प्लेइङ–११ दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । अन्तिम खेलमा नेपालले कृतिका मरासिनी र विन्दु रावलको स्थानमा डली भट्ट र राजमति ऐरीलाई मौका दिने सम्भावना रहेको हो । यदि भारतविरुद्ध अवसर पाएमा राजमतिको यो डेब्यू खेल हुनेछ ।   



  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया