logo-img

एक वर्षमा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब, निर्यात डेढ खर्बको मात्र
फाइल तस्बिर

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा बेहोरेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको मात्रै निर्यात गरेको देखिएको हो । 

विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र १ खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ पुगेको थियो । 

अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । 

गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ । भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा १ खर्ब तीन अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ, जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ बराबर छ ।

नेपालको अर्को छिमेकीमुलुक चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ । चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा ब्यहोरेका मुलुकहरूमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँ स्थानमा छ ।



व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ, जसबाट ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो । 

बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट २ करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ, जसबाट अफगानिस्तानसँग रु ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ ।



गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । 

३९ अर्ब ३ करोड ४३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै, २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैंची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आवमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र ७ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ । रासस 

  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया