logo-img

‘राष्ट्रिय रोग’ ग्याष्ट्रिकबाट कसरी पाउने छुटकारा ? [भिडियोसहित]

ग्याष्ट्रिक अहिले आमनेपालीको साझा समस्या बनेको छ ।  त्यसैले होला, सरकारले घोषणा नगरे पनि नेपालीहरूले ग्याष्ट्रिकलाई ‘राष्ट्रिय रोग’का रूपमा स्वीकार गरिसकेका छन् । प्रत्येक घरमा ग्याष्ट्रिकको समस्या भएको  एक न एकजना सदस्य भेटिन्छन् । अझ कतिपय घरमा त परिवारका पूरै सदस्य ग्याष्ट्रिकबाट प्रताडित छन् । 

अनामनगर बस्ने ३० वर्षीय राजेश कार्की ग्याष्ट्रिकको समस्या बल्झिएर दैनिक जीवन नै प्रभावित भइरहेको महसुस गरिरहेका छन् । रोग बल्झिएको धेरै समय त भएको छैन । तर, उनलाई यस समस्याले निकै सताइरहेको छ । ग्याष्ट्रिककै कारण उनले न त मन लागेको खानेकुरा खान पाएका छन् न त राम्रोसँग निदाउनै सकेका छन् । 

‘पहिले–पहिले मन लागेको खानेकुरा निर्धक्कका साथ खान पाइन्थ्यो । हिजोआज त केही खानेकुरा खानुभन्दा अगाडि १० पटक सोच्नुपर्छ,’ राजेश भन्छन्, ‘ग्याष्ट्रिकको कारणले दैनिकी पनि कस्तो कस्तो हुन्छ । खाना थोरै खाँदा पनि पेट फुलेजस्तो हुन्छ । खाली अमिलो डकार मात्र आउँछ ।’

राजेशका अनुसार विभिन्न चिकित्सकलाई देखाउँदा पनि ग्याष्टिक निको भइरहेको छैन । चिकित्सकको सल्लाहअनुसार उनी हिजोआज खानपान तथा शारीरिक क्रियाकलापमा बढी सक्रिय छन् । जसकारण ग्याष्ट्रिक केही नियन्त्रणमा रहे पनि उनले पूर्ण रूपमा राहत महसुस गर्न पाएका छैनन् ।
 
राजेश मात्र होइन, दुई वर्षदेखि कीर्तिपुरमा बसेर लोकसेवाको तयारी गरिरहेका सागर अवस्थीलाई पनि ग्याष्ट्रिकको समस्या देखिएको करिब डेढ वर्ष भइसकेको छ । पढाइ र दौडधूपका कारण जीवनशैली अस्तव्यस्त भएपछि ग्याष्ट्रिकको समस्या देखिन थालेको उनको ठम्याइ छ । 

उनी भन्छन्, ‘पहिले त केही थिएन, खाना खाए नखाए पनि वास्ता हुन्थेन । तर, यो ग्याष्ट्रिकको समस्या भएपछि भने एकदिन खाना खाएन भएन मर्ने गरी पेट दुख्न थाल्छ । अनि औषधिको सहारा लिएपछि अलिक सञ्चो भएको महसुस हुन्छ ।’ ग्याष्ट्रिकको समस्या देखिएदेखि नै आफूखुसी औषधि पसलमा गएर औषधि किनेर खाने गरेको पनि उनी स्वीकार्छन् ।

के हो ग्याष्ट्रिक ?



खाद्यनलीले खाएको खानेकुरा पेटमा पुर्याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ, यो प्राकृतिक कुरा हो । एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका ब्याक्टेरियालाई मार्नेदेखि खाना पचाउनेसम्मको काम एसिडले गर्छ । 

एसिड सामान्य निस्किए पनि शरीरलाई एसिडबाट बचाउने जुन काम हुन्छ, त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुने वरिष्ठ फिजिसियन डा. नवीन रौनियार बताउँछन् । पाचनरसबाट निस्किएको हाइड्रोक्लोरिक एसिडले खाना पचाउन सहयोग गर्छ । कुनै कारणवश एसिडको मात्रा बढी हुँदा मानिसले ग्यास्ट्रिक भएको महसुस गर्ने उनको भनाइ छ । 



उनका अनुसार विशेषगरी ७० प्रतिशतमा ग्यास्ट्रिक हुनुको मुख्य कारण हेलिकोपाइलरी कीटाणु हो । यो कीटाणु शरीरमा आफैँ उत्पन्न हुन्छ । जब हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको उत्पादन तथा मात्रामा तालमेल मिल्दैन, तब ग्यास्ट्रिक हुने गर्छ । कीटाणुको संख्या बढेपछि आमाशय सुन्निन थाल्छ । जसले ग्यास्ट्रिक गराउँछ ।

ग्याष्ट्रिक भएको कसरी थाहा पाउने ? 

ग्यास्ट्रिक भएपछि अमिलो डकार आउने, पेटको माथिल्लो भाग दुख्ने, बाउँडिने, फुल्ने, डम्म हुने, छातीको बीचतिर दुख्ने, बान्ता आउने, खाना नरुच्ने, भोक कम लाग्ने, दिसाको रङ कालो हुने, शरीर दुख्ने र कमजोर महसुस गर्नेजस्ता लक्षण देखिने डा. रौनियार बताउँछन् । 

उनी भन्छन्, ‘आवश्यकभन्दा बढी खाने, खानेबित्तिकै सुत्ने, बढी मात्रामा चिया–कफी पिउने बानी, आधा रातमा खाने, जंकफुड अत्यधिक खाने, मदिरा पिउने, कोकाकोला, पेप्सीजस्ता कोल्ड ड्रिंकले पनि ग्यास्ट्रिक गराउँछ । साथै, कुनै कुराको भय, अनिद्राले पनि ग्यास्ट्रिकको समस्या निम्त्याउँछ ।’

नेपालीको साझा रोग कसरी बन्यो ग्याष्ट्रिक ?

डा. रौनियारका अनुसार अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ । अर्को कुरा, हाम्रो बजार अनुगमन गतिलो हुँदैन । ‘जसले जे मन लाग्यो, त्यही पकाएर बेचेको हुन्छ । पश्चिमा मुलुकहरूमा बजार अनुगमन राम्रो छ । नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यु प्रयोग हुन्छ । यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ,’ डा. रौनियारले भने । ​

के छ उपचार ?

ग्याष्ट्रिक पहिलो उपचार भनेको सतर्कता अपनाउनु नै हो । चिकित्सकका अनुसार सुन्तला, कागती, भोगटेलगायत फलफूल खानुहुँदैन । यस्तै, दुग्धजन्य खानेकुराहरू पनि नखाएकै बेस हुने चिकित्सक बताउँछन् । 

‘हिजोआज अधिकांश मानिसले आफूखुसी ग्याष्ट्रिक भयो भनेर डाक्टरको सल्लाहविनै औषधि खाने गरेको पाइन्छ । जुन एकदमै गलत अभ्यास हो,’ डा. रौनियार भन्छन्, ‘यसरी आफूखुसी औषधि खाँदा पेटभित्र भएका अन्य समस्या बाहिर नआउँदै दबिन्छन् । र, त्यस्ता समस्याले अन्य शारीरिक समस्या निम्त्याउने जोखिम अत्यधिक रहन्छ । त्यसैले ग्याष्ट्रिक भयो भनेर जथाभावी औषधि किनेर खानुहुँदैन ।’ 

उनका अनुसार स्वास्थ्य परीक्षण गराएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ । ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ । अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ । ‘एचपाइरल’ भन्ने जीवाणु छ भने त्यो पेटको क्यान्सरसँग पनि जोडिएको हुन्छ । यसको निदान दीर्घकालीन तरिकाले गर्नुपर्छ । भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ । इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ । औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुनसक्ने डा. रौनियारको भनाइ छ । 

कसरी बच्ने ग्याष्ट्रिकबाट ? 

चिकित्सकका अनुसार सन्तुलित भोजन गर्नुपर्छ । लामो समयसम्म भोकै बस्नुहुँदैन । तर, धेरै तातो खानेकुरा भने खानुहुँदैन । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ । चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिने डा. रौनियारको भनाइ छ ।

उनका अनुसार स्वस्थ जीवनशैली अपनाउँदा ग्याष्ट्रिकको समस्याबाट सहजै जोगिन सकिन्छ । आफूले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थितिअनुसार उपयुक्त छ वा छैन ? खाएको खाना आफ्नो पेटले पचाउन सक्छ सक्दैन भन्ने ख्याल गरेर मात्र खाने गर्नुपर्छ । यसका साथै तनावरहित जीवनशैली उपनाउँदा पनि ग्याष्ट्रिकको जोखिमबाट धेरै हदसम्म जोगिन सकिने चिकित्सकको भनाइ छ । 

  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया