logo-img

कहाँ पुग्यो पूर्वराज्यमन्त्री रायको हत्या अनुसन्धान ?

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या घटनाको अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ । उनको गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले यस घटनालाई उच्चपदस्थ व्यक्ति हत्या घटनाका रूपमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । 

घटनालगत्तै उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै स्थानीय प्रहरी प्रशासन टुटिरहेका बेला आजदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले समेत अनुसन्धान थालेको छ । टोली सोमबार राति मात्र सर्लाही आइपुगेको प्रवक्ता श्रेष्ठले बताए । 

प्रयोग भएको भनिएको घरेलु हतियार फरसा फेला परे पनि अहिलेसम्म अन्य ठोस प्रमाण फेला नपरेको उनको भनाइ छ । ‘अहिलेसम्म घटनाका विषयमा ठोस प्रणाण फेला परेको छैन । हामी निरन्तर अनुसन्धानमा छौँ । प्रहरीको सम्पूर्ण शक्ति यही घटना अनुसन्धानमा जुटेको छ । सिआइबी टोलीले समेत आइपुगेकाले अब चाँडै अनुसन्धान टुंगोमा पुग्ने आशा गरेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने । 
     
घटनालगत्तै प्रहरीले रायको घरमा सहयोगीका रुपमा काम गर्ने एक युवक र खाना पकाउने एक महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनीहरूको बयानअनुसार घटनामा अन्य तीनजना संलग्न रहेको प्रहरीको आशंका छ ।

प्रहरीले घटनास्थललाई पूरै सिल गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । अहिले घटनास्थल चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा सुरक्षाकर्मी व्यापक मात्रामा परिचालन गरिएका छन् । 

मंगलबार अन्त्येष्टि



गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्यष्टि गरिएको छ । 

रायको आज साँझ मलंगवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले शोक सलामी अर्पण गरेको थियो ।



रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

यस्तै, उनको अन्तिम संस्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका प्रदेश अध्यक्ष भरत गिरी, पूर्वमन्त्री एवं सांसद महेन्द्रराय यादवलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

पुर्ख्यौली घर मलंगवा नगरपालिका–४, भएका ८० वर्षीय राय धेरैजसो समय परिवारसँगै काठमाडौं बस्दै आएका थिए । उनी एक साताअघि मात्रै धानखेती गर्न रतनपुर पुगेका हुन् । सोही क्रममा आइतबार राति फार्म हाउसमा सुतेकै ओछ्यानमा हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो । 
    
विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५६ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा निर्वाचित राय २०६१ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । रायका श्रीमती, दुई छोरा र पाँच छोरी छन् । 

  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया