logo-img

विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको लक्ष्य प्राप्तिमा इजिप्टले सघाउने

नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्य प्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताएका छन् ।  

इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुलुकले सघाउने बताइन् ।

नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन (नाम), जी–७७ संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका विषयमा सहकार्य हुँदै आएको बताइन् ।

जलवायु परिवर्तनलगायत आपसी हितका विषयहरूमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको बताउँदै राजदूत एलगेब्लीले नामको संस्थापक सदस्य नेपाल इजिप्टको निकट मित्र रहेको बताइन् । सन् १९५७ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको चर्चा गर्दै उनले इजिप्टका पिरामिड र नेपालको सगरमाथा विश्वभरका पर्यटकका निम्ति आकर्षणका केन्द्र बनेका बताइन् ।

नेपालसँग सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुक इजिप्टले ३ सयजना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर दिएको उल्लेख गर्दै राजदूत एलगेब्लीले भविष्यमा छात्रवृत्तिका कोटा बढाउन आफू प्रतिबद्ध रहेको बताइन् । 

दुई देशबीचको परामर्श संयन्त्रले चाँडै त्यस सम्बन्धमा निर्णय गर्ने जानकारी पनि उनले बताइन् । आर्थिक साझेदारी, लगानी एवं व्यापारका क्षेत्रमा भने दुई देशले अझै धेरै काम गर्न बाँकी रहेको राजदूत एलगेब्लीले बताइन् । 



सन् १९५२ को क्रान्ति इजिप्टको विकासको वाहक बनेको बताउँदै उनले गरिमामय इतिहासलाई कायम राख्दै निरन्तर विकासको बाटोमा अग्रसर हुन आफ्नो देशका जनतालाई राष्ट्रिय दिवसले प्रेरित गरेको उल्लेख गरिन् ।

समारोहमा काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारको उच्चपदस्थ कर्मचारी, उद्यमी व्यवसायी र सञ्चारकर्मीको उपस्थिति थियो । 



  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया