logo-img

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, के-के छन् एजेन्डा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।  

बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाबाट प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित इन्दिरा रानाले संसदको लेटरप्याडको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई भिसा प्रक्रिया छिटो गराउन सिफारिस गरेको पत्र बाहिरिएपछि उनको राजीनामाको माग भइरहेको छ ।

उनको यस विषयमा पनि रास्वपाको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ । यद्यपि रास्वपाले उपसभामुख रानाको विवादित पत्रबारे यसअघि नै खण्डन गरिसकेको छ ।

रास्वपाले उक्त पत्रबारे प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सोबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको प्रतिक्रिया दिएको छ । 

‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ । उपसभामुखज्यूलगायत अन्य नेताहरूले कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए/नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका लागि रास्वपा सधैं तयार रहेको जानकारी गराउन चाहन्छौं,’ पार्टीका कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 



यद्यपि रास्वपाका निवर्तमान महामन्त्री डा. मुकुल ढकालले भने अमेरिका पठाउने भनिएका व्यक्तिहरूबाट उपसभामुख रानाको सचिवालयले ९ लाख रुपैयाँ उठाएको दाबी गरेका छन् । उनले उक्त प्रमाण पीडितसँग सुरक्षित रहेको पनि दाबी गरेका छन् । 

रास्वपाले ढकालको पछिल्लो अभिव्यक्तिको विषयमा पनि केन्द्रीय कमिटीको बैठकमा छलफल गर्ने बुझिएको छ । रास्वपाले उनलाई केही दिनअघि पार्टी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेको थियो । 



पार्टीको कारबाहीमा परेपछि डा. ढकाल थप आक्रामक भइरहेका छन् । उनले पछिल्लो समय रास्वपाका विवादित विषयमा लगातार धारणा राखिरहेका छन् । 

  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया