logo-img

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।

संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गरेका थिए । 

प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने  छ । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया