logo-img

प्रचण्डको दाबी- सरकारबाट बाहिरिनुपरे पनि सुशासनको पक्षमा जित्यौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज आयोजित स्मृतिसभामा उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताए । 

‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो । सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन्’, पूर्वप्रधानमन्त्री दाहालले भने । सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताए । 

‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, सङ्गठन सुदृढ  गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ’, अध्यक्ष दाहालले भने । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने बताए । ‘माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्छ, माओवादीलाई रुपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ’, उनले भने । 

माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उनले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताए । ‘यद्यपि, अहिलेको कार्यभार पूरा गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहन्थ्यो, सङ्घ र प्रदेश सरकारमा नरहेसँगै संसद्मा मुख्य भूमिका रहन्छ । जनतालाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ’, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।  





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया