logo-img

प्रदेशमा मन्त्री नपाएपछि प्रतिवादको मनस्थितिमा शेखर-गगन समूह

केन्द्रदेखि प्रदेशसम्म भएको सत्ता परिवर्तनले दुई ठूला दलका नेतादेखि कार्यकर्तासम्ममा उत्साह छाएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले केन्द्र सरकारमा १० जना मन्त्री पाएको छ । 

केन्द्र सरकारमा मन्त्री पठाउँदा सभापति शेरबहादुर देउवाले कांग्रेसभित्रका सबै समूहको चित्त बुझाएका थिए । देउवाले १० मन्त्रालयमध्ये आफ्नो समूहबाट ६ जना र शेखर–गगन पक्षबाट चारजना मन्त्री पठाएका थिए । आफ्नो भागका ६ मध्ये पनि उनले प्रकाशमान सिंह, शशांक कोइराला र उपसभापति पूर्णबहादुर खड्कालाई एक–एकजना मन्त्री दिए । 

केन्द्रमा आफ्नो मागअनुसार ४० प्रतिशत मन्त्री पाएर सन्तुष्ट देखिएको शेखर–गगन पक्षले प्रदेश सरकारमा आफ्नो पक्षलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ । सभापति देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरूको नाम पठाउँदा एकलौटी गरेको भन्दै इतरपक्षले आपत्ति जनाएको हो । 

यस विषयमा कोइरालाले मंगलबार आफ्नो पक्षका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतसँग छलफल गरेका थिए । मंगलबार दिउँसो विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा संस्थापन पक्षसँग प्रतिवाद गर्ने सल्लाह भएको बुझिएको छ ।   

इतर पक्षले आफ्नो समूहले कोशीमा २ जना, बागमतीमा ३ जना, गण्डकीमा २ जना, लुम्बिनीमा २ जना, कर्णालीमा १ जना र सुदुरपश्चिममा १ जना मन्त्री पाउनुपर्ने दाबी गरेको छ । मधेश सरकारमा भने सो समूहले मन्त्रीमा दाबी गरेको छैन । कोइरालाले सभापति देउवालाई फोन गरेर बैठकको निष्कर्ष सुनाएका थिए । उनले आफ्नो माग सम्बोधन नभए अप्ठ्यारो पर्न सक्ने भन्दै चेतावनी दिएका थिए । 

सबै प्रदेशमा सरकार गठन भइरहेको कुरा आफूले सञ्चारमाध्यमबाट मात्रै सुनेको भन्दै शेखरले बाँकी विषयमा पूर्ण रूपमा अनभिज्ञ रहेको बताएका थिए । देउवाले आफूहरूको माग नसुनेमा प्रतिवाद गर्ने मनस्थिितिमा इतरपक्ष पुगेको छ । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया