logo-img

प्रदेशका मन्त्री छनोटमा कांग्रेसभित्र असन्तुष्टि, कोइराला पक्षको गुनासो- ‘देउवाले एकलौटी गरे’
फाइल तस्बिर

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरणअनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर, प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरूको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै वरिष्ठ नेता डा. शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ । सरकार गठन र पठाउने मन्त्रीका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरूको दाबी छ ।  

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे मंगलबार आफ्नो सम्पर्क कार्यालयमा बृहत् अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।

डा. कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए । छलफलमा कोशीमा दुई, बागमतीमा तीन, गण्डकी र लुम्बिनीमा दुई/दुई, कर्णाली र सुदूरपश्चिममा एक/एकजना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालिएको थियो ।

बैठक सकिएलगत्तै कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन । र, विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचारबाहेक कोइराला पूर्णरूपमा बेखबर हुनुहुन्छ ।’

यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति  देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।



महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

कोइराला समूहलाई वाइपास गर्दै देउवाले बुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरूको नाम सिफारिस गरेका छन् ।



बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ । यस्तै, लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ । 

  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया