logo-img

खेल सकिएको २ घण्टापछि जब अर्जेन्टिना हारेको निर्णय सुनाइयो

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोसँग अर्जेन्टिना २–१ ले स्तब्ध भएको छ । बुधबार राति सम्पन्न यो खेलमा विवाद र अन्योलले बढी ठाउँ लियो ।

खेलमा अर्जेन्टिनाले अन्तिम क्षणमा गोल गरेको थियो । उक्त गोलपछि खेल २–२ को स्थितिमा देखियो । तर, सो गोललाई भारले मान्यता नदिएपछि अर्जेन्टिना पराजित भएको निर्णय सुनाइयो ।  खेल सकिएको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । 

अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेल ‘सर्कसमा परिवर्तन’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकको भाँडभैलोबीच खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

समूह ‘बी’ अन्तर्गत भएको यस खेलमा मोरक्कोले अग्रता लिएको थियो । सुफियान रहिमीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । ५१औँ मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल गरेपछि मोरक्को २–० अघि बढ्यो । खेलको ६८औँ मिनेटमा जिउलियानो सिमोनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । 



क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे पनि त्यसले मान्यता पाएन । उक्त दृश्यलगतै दर्शकले मैदानमा बोतल फ्याँकेका थिए । साथै, केही दर्शक मैदान छिरे ।

स्थिति तनावपूर्ण बनेपछि रेफ्रीले खेल सकिएको घोषणा गरे । त्यो बेलासम्म दुवै टिमले मैदान छाडिसकेका थिए । यद्यपि रेफ्रीले खेल सकिएको संकेतमा ‘ह्विसल’ भने बजाएका थिएनन् । र, म्याच सकिएको दुई घण्टापछि मोरक्को २–१ ले विजयी भएको निर्णय सुनाइयो । 



बुधबार नै भएको समूह ‘डी’ को खेलमा जापानले पाराग्वेलाई ५–० ले हरायो । यस्तै, समूह ‘सी’ मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हराउँदा इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले ।

यस्तै, समूह ‘बी’ को खेलमा इराकले युक्रेनलाई २–१ ले हरायो । फ्रान्समा भइरहेको यस प्रतियोगिातमा समूह ‘ए’ मा फ्रान्स, अमेरिका, न्यूजिल्याण्ड र गयाना छन् । समूह ‘बी’ मा अर्जेन्टिना, इराक, मोरक्को र युक्रेन छन् ।

यस्तै, समूह ‘सी’ मा डोमिनिकन रिपब्लिक, इजिप्ट, स्पेन र उज्वेकिस्तान रहँदा ‘डी’ समूहमा इजरायल, जापान, माली र पाराग्वे छन् । ओलम्पिको पुरुष फुटबलमा यू–२३ टोलीको सहभागिता रहने गर्छ ।

ओलम्पिकको औपचारिक उद्घाटन ११ साउनमा हुने भए पनि फुटबलको प्रतिस्पर्धा बुधबारबाट सुरु भएको हो ।

  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया