logo-img

ग्लोबल टी-२० आज रातिदेखि, उद्घाटन खेलमै खेल्दै सन्दीप

क्यानडामा हुने चौथो सिजनको ग्लोबल टी–२० लिग बिहीबार रातिदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा भ्यानकुभर नाइट्स र टोरन्टो नेशनल्सबीच प्रतिस्पर्धा हुने तालिका छ । यी दुई टिमबीचको खेल शुक्रबार बिहान १ः४५ देखि सुरु हुनेछ । 

ग्लोबल टी–२० मा यसपालि तीन नेपाली क्रिकेटर पनि जोडिएका छन् । यसपटक लिगमा भ्यानकुभर नाइट्समा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी तथा टोरन्टोमा रोहितकुमार पौडेल पनि आबद्ध भएका हुन् ।  

उनीहरूमध्ये दीपेन्द्र र रोहितले पहिलो म्याच गुमाउने छन् । भिसा आउन ढिला भएका कारण उनीहरूले उद्घाटन खेल गुमाउने भएका हुन् । भिसा ढिलाइका कारण दीपेन्द्र बुधबार मात्र क्यानडातर्फ लागेका छन् । रोहित भने बिहीबार मात्र त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् । 

दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिगमा देखिने छन् । स्टार स्पिनर सन्दीप लामिछाने भने क्यानडा पुगिसकेका छन् । उनी चौथोपटक ग्लोबल टी–२० लिग खेल्ने तयारीमा छन् । सन्दीपले यसअघि मोन्ट्रियल टाइगर्स, टोरन्टो नेशनल्स र सर्रे जग्वार्सबाट ग्लोबल टी–२० खेलेका थिए ।  

हालसम्म उनले यो लिगमा १७ खेलमा २४ विकेट लिएका छन् । सन्दीपले गत संस्करणमा ८ खेलमा ५.१७ को उत्कृष्ट इकोनमीमा ११ विकेट लिएका थिए । उनी यसपटक पनि उच्च प्रदर्शन गर्ने योजनामा छन् । 



सन्दीपले लिगको पहिलो खेलमै प्लेइङ–११ मा मौका पाउने सम्भावना बलियो छ । भ्यानकुभरमा स्पिनरको रूपमा उनी पहिलो रोजाइमा छन् । ग्लोबल टी–२० मा ६ टिमको सहभागिता छ ।



कूल २५ म्याच हुने लिगको उपाधि भिडन्त ११ अगस्टमा हुने तालिका छ । 

  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया