logo-img

धान बालीमा मनोमानी मलखाद प्रयोग, उत्पादन घट्ने चिन्ता
कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई छैन जानकारी
फाइल तस्बिर

कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मल खाद प्रयोग बढाउन  थालेका छन् । किसानले धान बालीमा मनोमानी रूपमा मल खाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका राधिका धामीले तीन बिघामा धान बाली लगाएकी छन् । 

धान बाली तङ्ग्रिँदै गएकाले उनले यतिबेला धानबालीमा मल खाद प्रयोग गर्न थालेका छन् । उनलाई धानबालीमा कुन मल र कति मात्रामा मल प्रयोग गर्ने भन्नेबारे जानकारी छैन । भेटेरिनरी तथा सहकारीबाट मल खरिद गरेर आफ्नै तरिकाले प्रयोग गर्दै आएकी छन् । ‘मल किन्दा भेटेरिनरीमा अलि अलि सोध्ने गरेका छौँ, श्रीमान्ले मल किनेर ल्याउनुभएको छ’, उनले भनिन्, ‘मल बढी प्रयोग गरेमा बढी उत्पादन हुन्छ भन्ने सुनेकी छु । सके जति हाल्ने हो ।’

किसानले धानको उत्पादन बढाउन समयमै प्राङ्गारिकदेखि रासायनिक मलको प्रयोग गर्ने गर्दछन् । मल खाद सिफारिस मात्रामा प्रयोग गरे उत्पादन वृद्धिमा सहयोग पुग्छ तर सिफारिस भएको मलको मात्रामा फरक परे उत्पादनमा गिरावट आउने प्राविधिकको भनाइ छ । 

किसानले अहिले धान खेतमा युरिया मल टप ड्रेसिङ (थप मल खाद छर्ने काम) गरिरहेका छन् । धान रोपेपछिको २० देखि ३० दिनको अवधिमा पहिलो पटक र ५० देखि ५५ दिनको अवधिमा दोस्रो पटक रासायनिक मल हाल्ने गर्दछन् । प्राविधिकका अनुसार धान रोपाइँ गर्दा प्रायः माटोमा फास्फोरस र पोटासको प्रयोग गरेका सचेत किसानहरू टप ड्रेसिङमा युरिया मलको प्रयोग गर्ने गरेका हुन्छन् । टप ड्रेसिङ गर्दा युरिया मलको प्रयोग सिफारिसभन्दा धेरै भए धान बालीमा रोग किराको प्रकोप बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको कृषि ज्ञान केन्द्र कैलालीको बाली विकास अधिकृत रामनारायण चौधरीले बताए ।  
‘कृषि विभागले अहिले स्थान विशेष मल खाद सिफारिस गरेको छ । स्थान विशेषअनुसार मलखादको प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ’, चौधरीले भने, ‘सुदूरपश्चिमसहित तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि प्रतिहेक्टर ६ टन प्राङ्गारिक मल, नाइट्रोजन एक सय किलो, फस्फोरस ३० किलो र पोटास ३० किलो तथा अन्य सूक्ष्म तत्त्व माटो परीक्षणका आधारमा प्रयोग गर्न सिफारिस गरेको छ ।’

यसरी माटोको परीक्षण र बाली बिरुवाको अवस्थाअनुसार रासायनिक मलको प्रयोग गर्न उनको सुझाव छ । किसानले बिहानको समयभन्दा साँझको समय, छिपछिपे पानी भएको र झार हटाएर प्रतिकट्ठा एकदेखि डेढ किलोसम्म रासायनिक मल युरिया टप ड्रेसिङ अर्थात् थप मलका रूपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । नियमित वर्षा नहुँदा पनि धान बालीमा विभिन्न रोग कीराको प्रकोप देखा पर्ने जोखिम बढ्छ । 

कैलालीमा पर्याप्त पानी नपर्ने र गर्मी अधिक हुँदा धान बालीमा विभिन्न किसिमका कीराको प्रकोप बढेको अवस्था छ । यस्तो बेलामा युरियाको प्रयोगले अधिक मात्रा किराको प्रकोप देखा पर्ने भएकाले किसानले बाली बिरुवाको नियमित अनुगमन गर्न आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी बताउँछिन् । 



‘थप मल प्रयोग गर्दा बाली हर्लक्क बढ्छ । युरिया मल पाएका बेला धानका बोट नरम हुने भएकाले यो बेला गवारो कीरा लाग्ने जोखिम रहन्छ’, उनी भन्छिन्, ‘मल खाद प्रयोग गरिरहेका बेला र पछि पनि बालीको नियमित अनुगमन आवश्यक हुन्छ । समयमै जानकारी पाएमा बाली जोगाउन सकिन्छ । बालीमा मल र विषादी प्रयोग गर्दा मनोमानी गर्न हुँदैन । सल्लाह अनुसार मात्र गर्न आवश्यक छ ।’ 



  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया