logo-img

बढ्दै छ प्रसूतिका लागि शल्यक्रिया : रहर कि बाध्यता ?

नेपालमा पछिल्लो समय शल्यक्रियामार्फत बच्चा जन्माउने क्रम अस्वाभाविक रूपमा बढेको देखिन्छ । विश्व स्वास्थ्य संगठनले शल्यक्रियाबाट गरिने प्रसूति १० देखि १५ प्रतिशतभन्दा बढी हुन नहुने बताएको छ । तर, नेपालका सरकारी अस्पतालमा नै सुत्केरी हुने ५० प्रतिशत महिलाको शल्यक्रिया गर्ने गरिएको पाइएको छ । निजी अस्पतालमा त यो दर झनै बढी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका सरकारी अस्पतालमा ५० प्रतिशतभन्दा बढी र निजी अस्पतालमा ९० प्रतिशतभन्दा बढी प्रसूति शल्यक्रियाबाट गराएको देखिएको छ । नेपालमै सबैभन्दा बढी सुत्केरी हुने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आर्थिक वर्ष ०७८/७९ मा २४ हजार ३७९ जना सुत्केरी भएकामा नौ हजार ११८ जना अर्थात् ३७ प्रतिशतको शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो ।

आर्थिक वर्ष ०७९/८० मा २४ हजार ६७२ जना सुत्केरी हुँदा नौ हजार ८२१ (३९ प्रतिशत)को शल्यक्रिया गरिएको थियो । आर्थिक वर्ष ०८०/८१को नौ महिना (गत साउनदेखि चैतसम्म) १५ हजार ५१४ जना सुत्केरी हुँदा ७ हजार ४८३ अर्थात् ४८ प्रतिशतको शल्यक्रियाबाट प्रसूति गराइएको थियो । काठमाडौंकै अन्य सरकारी अस्पतालमा त शल्यक्रियाबाट सुत्केरी गराउनेको अनुपात योभन्दा बढी छ । त्रिवि शिक्षण अस्पतालमा चालू आर्थिक वर्षको नौ महिनामा १ हजार ७०९ जना सुत्केरी हुँदा ९७९ जना अर्थात् ५७ प्रतिशतको शल्यक्रिया गरिएको थियो ।

निजी अस्पतालमा शल्यक्रियाको तथ्यांक त झन् डरलाग्दो रूपमा उकालो लागेको देखिन्छ । नर्भिक इन्टरनेसनल अस्पतालमा आर्थिक वर्ष ०७८/७९ मा ४२७ जना सुत्केरी भएकामा ३९२ जना अर्थात् ९१ प्रतिशतको शल्यक्रिया गरिएको थियो । आर्थिक वर्ष ०७९/८० मा ४०६ जना सुत्केरी भएकामा ३८२ जना अर्थात् ९४ प्रतिशतको शल्यक्रिया गरिएको थियो । चालू आर्थिक वर्ष ०८०/८१ को नौ महिनामा ३३९ जना सुत्केरी भएकामा २९० अर्थात् ८५ प्रतिशतको शल्यक्रिया गरिएको थियो ।

त्यस्तै, ह्याम्स अस्पतालमा आर्थिक वर्ष ०८०/८१ को नौ महिनामा २२२ जना सुत्केरी भएकामा २१५ जना अर्थात् ९६ प्रतिशतको शल्यक्रिया गरिएको छ ।

किन बढिरहेको छ, शल्यक्रियाबाट प्रसूति ? 



पछिल्लो समय नेपालमा ‘नर्मल डेलिभरी’भन्दा शल्यक्रिया (सिजरियन सेक्सन)मार्फत बच्चा जन्माउनेको संख्या अस्वाभाविक रूपमा बढ्दै गएको अध्ययन–प्रतिवेदनले समेत देखाएका छन् । विशेषगरी सहरी क्षेत्रका अधिकांश महिलाले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेको अध्ययनमा उल्लेख छ । ‘जर्नल अफ गाइनोलोजी एन्ड वुमन हेल्थ’मा प्रकाशित अनुसन्धानात्मक लेखअनुसार सहरी क्षेत्रका ठूला अस्पतालले शल्यक्रियाबाट ८१ प्रतिशतसम्म प्रसूति गराएका छन् ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार नेपालमा पाँचमध्ये एक महिलाले शल्यक्रियाबाट बच्चा जन्माउने गरेको तथ्यांक छ । जसअनुसार सरकारी अस्पतालका तुलनामा निजी अस्पतालमा तीन गुणा बढी शल्यक्रिया गर्ने गरिएको छ ।



प्रतिवेदनले निजी अस्पतालमा ५१ प्रतिशतको तुलनामा सार्वजनिक क्षेत्रका स्वास्थ्य संस्थामा १५ प्रतिशत शिशु शल्यक्रियाबाट जन्माएको देखाएको छ । काठमाडौं उपत्यकालगायत ठूला सहरका केही निजी अस्पतालमा शल्यक्रिया प्रसूतिदर ९० प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । 

उनीहरूका अनुसार केही रेफरल अस्पतालमा ३५ प्रतिशत शल्यक्रिया प्रसूति दर छ । दुर्गम गाउँहरूबाट रिफर भई आउने केसहरूले सहरका अस्पतालमा शल्यक्रिया प्रसूति दर बढाएको हो । शल्यक्रिया प्रसूतिमार्फत जन्मिएको प्रत्यक्ष जन्मको अनुपात निरन्तर बढ्दै गएको छ । शल्यक्रिया प्रसूतिबाट बच्चा जन्माउने दर सन् १९९६ मा एक प्रतिशत थियो भने २०१६ मा १० प्रतिशत र २०२२ मा १८ प्रतिशत रहेको तथ्यांक छ । 

अध्ययनहरूले शल्यक्रियामार्फत प्रसूति ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा २२ प्रतिशत बढी रहेको देखाएको छ । प्रतिवेदनका अनुसार अशिक्षित महिलाको तुलनामा शिक्षित महिलाहरूले शल्यक्रियाबाट प्रसूति बढी गर्ने गरेका छन् ।

के भन्छन् चिकित्सक ? 

प्रसव पीडा सहन सकिँदैन भन्ने महिलाको सोचका कारण शल्यक्रियामार्फत बच्चा जन्माउने प्रवृत्ति वर्तमान समयमा बढेको चिकित्सकहरू बताउँछन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी विनाशल्यक्रिया प्रसूति गराउने प्रयास गर्दागर्दै पनि बीचमा केही कारणवश शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्दा शल्यक्रिया प्रसूतिदर बढेको बताउँछन् ।

‘नर्मल डेलिभरीमा कहिलेकाहीँ जोखिम हुन सक्छ । नर्मल हुन्छ भन्दाभन्दै अकस्मात् बच्चाको धड्कन तल वा माथि भइदिन सक्छ । जसले गर्दा शल्यक्रिया गर्न एक मिनेट पनि ढिला गर्दा बच्चालाई जोखिम हुन सक्छ,’ डा. सुवेदी भन्छन्, ‘जोखिम कति लिने भन्ने अवस्थामा हिजोआज कतिपय अस्पतालले जोखिम मोल्न चाहँदैनन् । हिजोआज उत्तेजित भिडलाई सम्झाउन गाह्रो हुन्छ भन्ने हिसाबले समयमै शल्यक्रिया गरियो भने बच्चा र आमालाई जोखिममुक्त गराउन सकिन्छ भनेर पनि शल्यक्रियाबाट प्रसूति गरिन्छ ।’ यसैगरी, शल्यक्रिया गर्ने अवस्था छ भने किन सरकारीमा गएर पालो कुर्नु भन्ने मनसायले निजीमा शल्यक्रिया प्रसूतिदर बढेको हुनसक्ने उनको भनाइ छ । 

यस्तै, धैर्यताको कमी, लामो समयसम्म व्यथा खप्न नसकेका कारण पनि शल्यक्रिया प्रसूतिदर बढ्दै गएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । ‘हिजोआज गर्भवती महिला तथा परिवारका सदस्यमा धैर्यको कमी देखिन्छ । गर्भवतीलाई व्यथाले च्याप्दै गएपछि पीडा खप्न नसक्दा शल्यक्रियाबाट प्रसूति गरिदिन आग्रह गर्छन्,’ डा. अधिकारीले भने, ‘तर, सरकारी अस्पतालमा हामीले काउन्सिलिङ गरेर भए पनि जतिसक्दो नर्मल डेलिभरी गराउने प्रयास गरिरहेका हुन्छौँ ।’

पहिलोपटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रोपटक शिशु जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरिएको उनले बताए ।

डा. अधिकारीका अनुसार शल्यक्रियाद्वारा प्रसूति गर्ने क्रमलाई कम गर्न पहिलोपटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रूपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । आफूहरूले पनि शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिकता दिएको उनी बताउँछन् ।

  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया