logo-img

यस वर्षको मनसुनी विपद्मा परी आजसम्म कति भयो धनजनको क्षति ?

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आजसम्म एक सय ३४ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुईजना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा आठजना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ३४ जनाको मृत्यु भएको हो ।
 
बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा नौजना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौजना, बागमती प्रदेशमा नौजना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौजना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ४८ जना घाइते भएका प्रवक्ता कार्कीले बताए । 

उनले भने, ‘बाढीपहिरामा परी कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा एकजना र कर्णाली प्रदेशमा एकजना गरी सातजना बेपत्ता भएका छन् । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ ।’

बाढीको कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् । दुई सय ३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

बाढीपहिराकै कारण छ सय तीनवटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ३० घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया