logo-img

धुर्मुस-सुन्तलीले बेवारिसे छाडेको क्रिकेट रंगशालाले पाउने भयो पुनर्जीवन, एक साताभित्र काम सुरु गरिने

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।
 
धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत संकलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिले स्थलगत अनुगमन गरेको हो । 

फाउण्डेसनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरेलगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिए । उनले भने, ‘आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।’
 
रंगशाला निर्माणस्थलमा रहेको झाडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उनले बताए । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेसनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताए । प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उनले बताए । 
 
रंगशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता भएको छ । 
 
धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रंगशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उनले बताए । संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरी ठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताइन् । 

उनले भनिन्, ‘निर्माणको वातावरण बनाइदिने काम महानगरपालिकाको हो । समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।’ पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उनले बताइन् । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रंगशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उनको भनाइ छ । 
 
कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुईवटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ । निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रंगशालाको सबै काम पूरा गर्न तीन अर्बभन्दा बढी खर्च लाग्नेछ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।
 
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताए । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उनले निर्देशन दिए । त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रंगशाला निर्माणअघि बढाइएको हो । रंगशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्नेछ ।
 
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रंगशाला निर्माण गर्न लागिएको बताए । 





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया