logo-img

सिमलताल दुर्घटना : १४ दिन बित्दा पनि खोजीमा किन देखिएन प्रगति ?

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुईवटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।
 
आज घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ । तर, अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ संकेत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

विगत ५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेसनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ । 

थापाका अनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ ।  गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो । उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । 

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । 

उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया