logo-img

दुर्घटनामा परेको विमानका पाइलटले भने– १०० फिट माथि पुगेपछि कन्ट्रोल नै गर्न सकिनँ

गत बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका चालक मनीषरत्न शाक्यले विमान दुर्घटनामा पर्नुको कारणबारे सामान्य जानकारी दिएका छन् । काठमाडौं मेडिकल कलेजमा उपचाररत शाक्यले धावनमार्गबाट केही माथि उडेपछि आफूले जहाज नियन्त्रण गर्न नसक्दा विमान दुर्घटनामा परेको बताएका छन् । 

उक्त अस्पतालकी निर्देशक प्रा.डा. मीना थापासँग सामान्य कुराकानी गर्दै उनले करिब १०० फिट जति माथि पुगेपछि आफूले कन्ट्रोल नै गर्न नसकेको बताएका हुन् । त्यसपछि केहीले थिचिएको जस्तो भएको र बाँकी के भयो भन्नेबारे धेरै याद नरहेको बताएका हुन् ।

क्याप्टेन शाक्यलाई दुर्घटना छानबिन आयोगका तर्फबाट एक चिकित्सकले पनि भेटेका थिए । उनलाई मानसिक तनाव पर्ला भनेर अस्पताल प्रशासनले नजिकका आफन्तबाहेकलाई भेट्न अनुमति दिएको छैन । 

दुर्घटनालगत्तै काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा उनको प्राथमिक उपचार गरिएको थियो । त्यसपछि सघन उपचार कक्ष (आइसियू)मा राखिएका उनलाई बिहीबार साँझबाट क्याबिनमा सारिएको छ । 

अस्पताल निर्देशक प्रा.डा. थापाका अनुसार क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको छ । उनको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ भने ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन् । 

उक्त विमान विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो ।दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । क्याप्टेन शाक्यबाहेक सबै यात्रुको निधन भएको हो । 





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया