logo-img

टाइगर प्यालेस सञ्चालकको गुनासो : ‘होटल बन्द गराउन माफियाले चलखेल सुरु गरे’

लामो समय बन्द रहेको रूपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा गत चैतदेखि क्यासिनो सञ्चालनमा आयो । त्यसका साथै होटल पूर्ण सञ्चालनमा आएको सञ्चालकले पत्रकार सम्मेलन गरेर खुशी व्यक्त गरे । तर, पछिल्लो समय होटल बन्द गराउने उद्देश्यले विभिन्न प्रपन्चहरू सुरु भएको सञ्चालक​ स्वयंम दुःख व्यक्त गर्न थालेका छन् ।

गैरआवासीय नेपालीहरूको समूहले खरिद गरेको रिसोर्ट लामो समय सञ्चालनको अन्योलमा परेको थियो । पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरिएको भएपनि होटल बन्द गराउन ‘माफियाको चलखेल’ सुरु भएको सञ्चालकहरूले दुःखेसो गरेका छन् । 

‘दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्नेगरी रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएका हौं । माफियाको चंगुलमा परेर करोडौंको घाटा व्यहोरेर लगानीकर्ता फर्किएको, कम्पनी बन्द भइसकेकालाई पुनः जोगाएका छौँ । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा हुने बेइज्जत रोक्न गैरआवासीय नेपालीहरूले चुनौती सहेर लगानी गरेका हौं । तर, पछिल्ला दिनमा पर्यटन क्षेत्रको प्रगति देख्न नसक्ने र समृद्धि नचाहने माफियाहरू सलबलाइरहेका छन् । दुःख दिने प्रयासमा छन्,’ टाइगर प्यालेसका अध्यक्ष बुद्धि सुवेदीले भने ।

विभिन्न चुनौतीका बाबजुद होटल र क्यासिनो नेपालको कानुनअनुसार खरिद गरि नियमानुसार सञ्चालनमा ल्याएको तीन महिना नबित्दै केही माफियाहरू फेरि चलखेलमा लागेको आफूहरूले थाहा पाएको सुवेदीले बताए । विभिन्न अवरोधका कारण करिब चार अर्बभन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । क्यासिनो बन्द हुँदा करिब चार सयको रोजगारी गुम्ने भएको छ भने करोडौंको सरकारी राजश्व पनि क्षति भएको सञ्चालकको भनाइ छ ।

‘केही माफियाहरूले मिडिया प्रयोग गरि राष्ट्रसेवक कर्मचारी तथा उच्च अधिकारीहरूलाई आर्थिक चलखेलको आरोप लगाउने, निराधार हल्ला फिँजाउने, झुटा र कपोलकल्पित समाचार लेख्न लगाई मानमर्दन गरिरहेका छन् यो कुरा गलत हो,’ होटल संचालक दीपक गौतमले भने,‘आफैंले लेख्न लगाएका समाचार सामाग्री केही अनलाइन सञ्चारमाध्यममा प्रकाशन गर्न लगाउने, सम्बन्धित अधिकारीलाई लिंक पठाएर त्रास फैलाउने, धम्की दिने काम भइरहेको प्रमाणहरू छन् । जसका कारण नियमानुसार पाउनुपर्ने क्यासिनोको लाइसेन्स रोकिएको छ,’ उनले थपे । कपोलकल्पित र भ्रामक हल्ला फिजाउनेविरुद्ध आफूहरू कानुनी उपचारमा जाने उनले बताए । 



टाइगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो संचालन गर्न दिनेगरी गत वैशाखमै सहमति प्रदान गरेको थियो । क्यासिनो अनुमति आवेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालिले नियमानुसार प्रक्रिया पुर्याएर तोकिएको समयमा आवेदन दिएको पनि गौतमले जानकारी दिए । 

गत आषाढ मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाइसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौ इन्भेस्टमेन्ट प्रालिको नाममा १० प्रतिशत शेयर रहेको उनले बताए । 



एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासिनो सञ्चालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिब ५१ करोड राजश्व तिर्न सकेको थिएन । त्यसका अलावा काठमाडौंमा सञ्चालित साङ्‌ग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरि धेरै रकम तिर्नुपर्ने भएका कारण आफैंले क्यासिनो सञ्चालन गर्न नसक्ने अवस्था भएकाले सञ्चालकहरू क्यासिनो सञ्चालन नगर्ने निर्णयमा पुगेका थिए ।

एसएमएसके कम्पनी गत आर्थिक वर्षमा १ अर्ब २० करोड घाटामा थियो । सोही घाटा पूर्ति गरी कम्पनी नाफामा लैजान कठिन भएको भन्दै सबै शेयरधनीको सहमतिमा साधारण सभाले कम्पनी बन्द गर्ने निर्णय गरेको थियो । साधारण सभामा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको तर्फबाट सञ्चालक बुद्धिसागर सुवेदी र दीपक गौतम तथा टाइगर काठमाडौं इन्भेस्टमेन्ट प्रालिको तर्फबाट सञ्चालक सदस्य सञ्चित श्रेष्ठको हस्ताक्षर रहेको थियो ।

साधारणसभाको सोही निर्णय बमोजिम एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१/८२ का लागि क्यासिनो नवीकरणको आवेदन गरेको थिएन भने रिसोर्ट सञ्चालक टाइगर वान कम्पनीलाई समयमै आफूले क्यासिनो सञ्चालन गर्न नसक्ने जानकारी दिएको थियो । 

१० प्रतिशत शेयर रहेको टाइगर काठमाडौं इन्भेस्टमेन्ट प्रालिका तर्फबाट सञ्चालक सदस्य श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजश्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए ।   ​

उनकै प्रस्तावअनुरूपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न सञ्चालक सदस्यहरू सहमत भएको गौतमले बताए । ‘नेपालको नियम कानुनअनुसार काम गर्ने र नेपालको विकासमा टेवा पुर्याउन विदेशमा लगानी गर्दा तुरुन्तै मुनाफा लिनसक्ने अवस्थालाई छाडेर आफ्नै मातृभूमिमा लगानी गर्न आएका हौँ । अध्यक्ष सुवेदीको अगुवाइमा इमान्दारीपूर्वक लाभकर, र क्यासिनोको बक्यौताबापतको करिब ५५ करोड नेपाल सरकारलाई बुझाएका हौँ । त्यति मात्र होइन कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्या समेत हल गरेका छौँ । काठमाडौंमा रहेको होटल साङ्‌ग्रिला हाल सञ्चालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भएपनि टाइगर वानमा भएको श्रमिक समस्या हल गरिसकेका छौँ । तर, यहाँ खराब खेल भइरहेको छ,’ सञ्चालक गौतमले भने ।  

यता अध्यक्ष सुवेदीले नियमितरूपमा व्यवसाय सञ्चालनमा आएमात्र अन्य समस्याहरू समाधान हुँदै जाने तर व्यवसाय नै बन्द गराएर देशले केही नपाउने बताए । ‘व्यवसाय आफ्नो ठाउँमा छ, विदेशमा कमाएको रकम मातृभूमिमै ल्याएर लगानी गरौँ भन्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएका हौँ,’ उनले भने ।

बन्द हुन लागेको रिसोर्ट सञ्चालन हुँदा नेपालमा रोजगारी सिर्जना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोसिसस्वरूप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको अध्यक्ष सुवेदीको भनाइ छ ।  

  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया