logo-img

ग्लोबल टी-२० लिगमा सन्दीपको अलराउन्ड प्रदर्शन, रोहितआबद्ध टिमको फराकिलो जित

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको ग्लोबल टी–२० क्यानडामा अलराउन्ड प्रदर्शन गरेका छन् । भ्यानकुभर नाइट्सबाट लिग खेलिरहेका उनले शुक्रबार बिहान सम्पन्न टोरन्टो नेसनल्सविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन गरेका हुन् । 

सन्दीपले यस खेलमा ९ बलमा तीन चौकासहित १५ रन जोडे । अन्तिमतिर उनको ब्याट चल्दा टस हारेर ब्याटिङको निम्तो पाएको भ्यानकुभरले १ सय १० रन जोडेको थियो । यस खेलमा सन्दीपसम्मिलित टिमले ८ विकेटको फराकिलो हार बेहोर्‍यो ।  

बलिङतर्फ उनले ४ ओभरको स्पेलमा २९ रन खर्चेर महत्वपूर्ण एक विकेट लिए । सन्दीपले टोरन्टोविरुद्ध आफ्नो पहिलो ओभरको अन्तिम बलमा उन्मुक्त चन्दलाई एल्बीडब्लू आउट गर्दै भ्यानकुभरलाई ब्रेकथ्रू दिलाएका थिए ।

उनले उक्त ओभरमा एक विकेट लिएर ५ रन मात्र दिए । सन्दीपले दोस्रो ओभरमा पनि कसिलो बलिङ गरे । उक्त ओभरमा उनले २ रन मात्र खर्चिए । तेस्रो ओभरमा भने सन्दीप महँगा साबित भए । उनी यस ओभरमा तीन छक्कासहित बिनाविकेट २० रन दिन पुगे । 

टोरन्टो बलियो स्थितिमा रहेका कारण विपक्षी ब्याटरले सन्दीपविरुद्ध ठूलो सर्ट प्रहार गर्न खोजे । र, उनीहरू सफल पनि भए । यद्यपि सन्दीपले आफ्नो चौथो ओभरमा भने उत्कृष्ट कमब्याक गरे ।

यस ओभरमा विकेट लिन नसके पनि उनले २ रन मात्र दिए । आफ्नो पूर्वटिम टोरन्टोविरुद्ध एक विकेट लिएसँगै सन्दीपले ग्लोबल टी–२० मा कूल विकेटको संख्या २५ पुर्याएका छन् । उनले यो उपलब्धि १८ खेलमा हासिल गरेका हुन् । सन्दीप पहिलो सिजनदेखि निरन्तर यो लिग खेलिरहेका छन् । 



उनले डेब्यू संस्करणमा मोन्ट्रियल टाइगर्सबाट खेल्दै ५ खेलमा ८ विकेट लिए । सन्दीपले सन् २०१९ मा टोरन्टो नेसनल्समा रहँदा ४ म्याचमा ५ विकेट हात पारे । तेस्रो संस्करणमा भने उनले सानदार पुनरागमन गरे ।

सन् २०२३ मा भएको उक्त सिजनमा सर्रे जग्वार्सबाट खेल्दै सन्दीपले ८ खेलमा ११ विकेट लिए । उनी हाल ग्लोबल टी–२० मा सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा छन् । 



जारी सिजनमा सन्दीप र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभरको दोस्रो खेल शनिबार राति रहेको छ । यस्तै, नेपाली कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरन्टोको अर्को खेल आइतबार बिहान हुनेछ । रोहित पहिलोपटक विदेशी लिगमा देखिन लागेका हुन् । 

  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया