logo-img

ओलम्पिकमा नेपालको १५औँ सहभागिता, उपलब्धि के-के भए ?
फाइल तस्बिर

फ्रान्समा आजदेखि औपचारिकरूपमा ३३औँ गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ । प्रतियोगितामा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायत खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् । 

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एसियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो ।

नेपालले ओलम्पिकमा भाग लिएको यो १५औं पटक  हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भव्य उद्घाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ । ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ ।

नेपालले ओलम्पिकमा विभिन्न ६ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ । नेपालका अन्य खेलाडीमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिन्टनमा भाग लिन लागेको हो ।

नेपालले ओलम्पिकमा भाग लिएको यो १५औं पटक  हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भव्य उद्घाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ । ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एसियाका ४४ वटा देशहरूले भाग लिँदैछन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेन्ट्स सञ्चालन हुँदैछन् ।

यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा तेक्वान्दोकी खेलाडी संगिना बैध्य थिइन् । सन् २००४ मा ग्रीसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन् । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा तेक्वान्दो खेलाडी दीपक विष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए । अन्य खेलाडीहरू भने कोटा तथा वाइल्ड कार्डको आधारमा ओलम्पिकमा सहभागी हुँदै आइरहेका छन् । ओलम्पिकमा एथ्लेटिक्स तथा स्विमिङ  खेलमा अनिवार्य सहभागी पठाउनु पर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो ।



विगतको सहभागिता    

सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो । त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो । बक्सरहरू भने हङ्गकङस्थित गोरखा रेजिमेण्टमा कार्यरत नेपाली सैनिकहरू थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन । हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरूले नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएका छन् । 



सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा नेपालबाट दुई धावक सहभागी भएका थिए । सन् १९७६ मा क्यानडाको मोर्टियलमा आयोजित ओलम्पिकमा नेपालको तर्फबाट धावक बैकुण्ठ मानन्धरले मात्र भाग लिएका थिए । उनले लगातार चारवटा ओलम्पिकमा दौडेर नेपालबाट सबैभन्दा धेरैपटक ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । 

नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ । खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषदमा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ । नेपालमा भएका सयौं खेलकुद सङ्घ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार रहेका छन् ।

सन् १९८० मा रुसमा आयोजना गरिएको ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स, बक्सिङ र भारत्तोलनमा १२ जना खेलाडी सहभागी भएका थिए । सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजित ओलम्पिकमा पनि एथ्लेटिक्स, भारत्तोलन बक्सिङमा ११ जना खेलाडी पठाइएको थियो । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ओलम्पिकमा नेपालको खेल टोली विगतमा भन्दा ठूलो थियो । त्यस प्रतियोगितामा नेपालले एथ्लेटिक्स, बक्सिङ, भारत्तोलन, जुडो, सुटिङ र ताइक्वाण्डो खेलमा १८ जना खेलाडीलाई सहभागी गराएको थियो । सन् १९९२ मा स्पेनको बार्सिलोना ओलम्पिकमा ताइक्वाण्डो, सुटिङ र एथलेटिक्समा पाँच जनाले भाग लिएका थिए । सन् १९९६ मा अमेरिकाको एटलाण्टामा एथ्लेटिक्स, भारत्तोलन र सुटिङमा छ जना गएका थिए । 

यस्तै, सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा नेपालले एथ्लेटिक्स, स्विमिङ तथा सुटिङमा गरी पाँच खेलाडी पठाएको थियो । सन् २००४ मा ग्रिसको एथेन्समा नेपालबाट ताइक्वाण्डो, एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना खेलाडीहरू पठाइयो । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ र ताइक्वाण्डोमा नौ खेलाडी सहभागी गराइएको थियो । सन् २०१२ मा लण्डन ओलम्पिकमा एथ्लेटिक्स, स्विमिङ र सुटिङमा भाग लिन चार जना नेपाली गएका थिए । सन् २०१६ मा दक्षिण अफ्रिकाको रियोदि जेनिरियोमा नेपालले एथ्लेटिक्स, स्विमिङ, जुडो र आर्चरीमा गरी छ जनालाई सहभागी गराएको थियो । सन् २०२१ को जापानको टोकियो ओलम्पिकमा एथ्लेटिक्स, स्विमिङ र एथलेटिक्समा पाँच जना खेलाडीले भाग लिएका थिए ।

गौरवमय त्यो क्षण

सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालले ताइक्वाण्डो खेलमा कास्य पदक पाएको थियो । खेलाडी विधान लामाले उक्त पदक जितेका थिए । सन् १९८६ मा विधानसहित आठ नेपाली खेलाडीले सियोलमै एसियाली खेलकुदमा कास्य पदक पनि पाएका थिए ।

सम्पूर्ण नेपाली गौरवान्वित बनेको त्यो खुसीको क्षण क्षणिक बन्न पुग्यो । त्यतिखेर ओलम्पिकमा ताइक्वाण्डो खेललाई प्रदर्शन खेलका रूपमा समावेश गरिएकाले खेलाडी लामाले जितेको पदकलाई आधिकारिक मान्यता प्रदान नगरिएपछि नेपाल आधिकारिक पदक तालिकामा अङ्कित हुनबाट वञ्चित हुन पुगेको थियो ।

नगण्य उपलब्धि 

ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता १५ चोटि पुगे पनि हालसम्म सहभागितामै सीमित रहेको छ । एसियाली खेलकुदमा रजत पदकसम्म जित्न सकेको नेपालले हालसम्म ओलम्पिकमा भने कुनै पदक जित्न सकेको छैन । ओलम्पिकमा सहभागिता अझै पनि औपचारिकतामा सीमित रहेको छ । ओलम्पिकका लागि दीर्घकालीन योजना सञ्चालन नहुनाले यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता खाली औपचारिकतामा सीमित हुन पुगेको हो । यस्ता प्रतियोगितामा विभिन्न खेलमा भाग लिनुभन्दा उचित प्रदर्शन गर्न सकिने सीमित खेललाई जोड दिनु उचित हुने गर्दछ । खेलाडीको क्षमताको मूल्याङ्कन नगरी कोटा प्राप्त भएकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु उचित हुन्छ कि हुँदैन गम्भीर भएर सोच्नुपर्ने बेला पनि आएको छ ।   

ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय कीर्तिमान भङ्ग गर्दा गौरव गर्ने क्षण होइन । पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्वपूर्ण अवसर हो । नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधारहरू जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको छ ।  

प्रतियोगिताको केही समयअघि खेलाडी जम्मा गरी दिइएको प्रशिक्षण ओलम्पिकजस्तो विश्वस्तरीय प्रतियोगिताका लागि अपर्याप्त भएको अनुभव विगतदेखि नै हुँदै आइरहेको छ । सीमित समय र सानो लगानीले ओलम्पिकमा सफलता सम्भव नभएको कुरा स्वयं खेल क्षेत्रसँग सम्बन्धित अधिकारी तथा प्रशिक्षकले बताउँदै आइरहेका छन् । वर्षैभरी नियमित प्रशिक्षण, पर्याप्त मात्रामा खेल प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण र प्रतियोगितामा जाने अवसरले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लैजाने गर्दछ । यसैगरी उनीहरूलाई यथोचित सुविधातर्फ पनि ध्यान दिनु जरुरी पर्दछ । यसै सिलसिलामा हालसम्म कैयौं स्थापित खेलाडीसमेत विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ ।

नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ । खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषदमा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ । नेपालमा भएका सयौं खेलकुद सङ्घ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टिमहरूले खेलाडीहरूलाई रोजगार दिई नियमितरूपमा प्रशिक्षण सञ्चालन गरेर नेपालको अन्तर्राष्ट्रिय सहभागितामा यथाशक्य योगदान दिइरहेका छन् ।  

दक्षिण एसियाली मुलुकमध्ये भारतले हालसम्म ओलम्पिकमा ३५ वटा पदक जितिसकेको छ । यसैगरी पाकिस्तानले १० तथा श्रीलङ्काले दुईवटा पदक पाइसकेका छन् । अब नेपालले पनि ओलम्पिक जस्तो खेलकुद प्रतियोगितालाई औपचारिकतामा मात्र सीमित हुन नदिइ पदक प्राप्तिका लागि उचित पहल गर्न जरुरी भइसकेको छ । ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय कीर्तिमान भङ्ग गर्दा गौरव गर्ने क्षण होइन । पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्वपूर्ण अवसर हो । नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधारहरू जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको छ ।   

  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया