logo-img

नेपाली पत्रकारिताका ‘भीष्म पितामह’, जसले लेखे पञ्चायतको मृत्यु पत्र [भिडियोसहित]

लेखेकै कारण पत्रिका बन्द गरिदिने त्यो व्यवस्था,पटक पटक जेलमा थुन्दा पनि आफ्नो कर्तव्यमा कहिल्यै च्युत नभएका एक पात्र र निर्भीक पत्रकारिताका लागि आफ्नो जीवन नै समर्पित गर्ने ती पात्र । अर्थात्–चन्द्रलाल झा । हामीमाझ रहिरहेका भए अहिले ८७ वर्षका हुन्थे–चन्द्रलाल झा । हाम्रो दुर्भाग्य,भौतिक रूपमा उनी हामीमाझ छैनन्–अहिले । २०६९ साउन १२ गते अर्थात् आजकै दिन ७५ वर्षको उमेरमा उनको देहावसान भयो । उनले हामीलाई छाडेर गएको पनि आज १२ वर्ष पुगिसकेको छ । अर्थात् आज उनको १२ औँ वार्षिक पुण्यतीथि ।

सन्तुलित विचारका साथ विषयलाई राजनीतिक मोड र घुम्तीमा घुमाउँदै लेख्ने झा । स्वतन्त्र पत्रकारिताप्रतिको आस्था र लोकतान्त्रिक मूल्य मान्यताप्रतिको अनवरत निष्ठा ।
 
अनेक प्रलोभन लत्त्याएर झाले पञ्चायती शासनकालमा १८ पटकसम्म जेल जीवन किन स्वीकार गरे ? अभिव्यक्ति स्वतन्त्रता तथा मौलिक हक नभएको पञ्चायतको त्यो बेलामा खरो कलम चलाउने साहस उनले कसरी प्राप्त गरे ? प्रजातन्त्र र स्वतन्त्रताका लागि अनवरत लड्ने आँट उनले कसरी पाए ? कसैसँग सम्झौता नगरी स्वाभिमानका साथ पत्रकारिता मात्र गरेकै कारण कुन हदसम्म उनले मूल्य चुकाउनु पर्‍यो ? को थिए,चन्द्रलाल झा र के थियो उनको ‘नेपाल टाइम्स’ ?

१४ पुस २०३८ साल । सधैँझैँ त्यस साँझ पनि काठमाडौंको मरुहिटीबाट नेपाल टाइम्स प्रकाशित भयो । छुराभन्दा धारिलो सम्पादकीयका कारण ख्याति कमाइरहेको यो सन्ध्याकालीन दैनिकले यो दिन भने विशेष आलेखका कारण सनसनी मच्चायो । पञ्चायती व्यवस्था र राजपरिवारको जगजगीको त्यो बेलामा प्रकाशित भएको उक्त लेखको सानो अंश थियो–मेरो राजा चोर हुनुहुन्न,मेरो राजा तस्करको नाइके हुनुहुन्न’ ले दरबारिया अधिकारीलाई आपत् पर्‍यो । अब सम्पादक झालाई कसरी थुन्ने ? के भनेर थुन्ने ?

त्यही लेखकै आधारमा थुन्ने हो भने प्रश्न उठ्न सक्थ्यो–उसो भए राजा चोर हुनुपर्छ त  ? राजा तस्करको नाइके हुने त ? पञ्चायती कानुनले पनि पक्रन सकेन । राजालाई चुनौती दिने ती व्यक्ति थिए, नेपाल टाइम्सका सम्पादक चन्द्रलाल झा । झाको कलम अलग धातुले बनेको थियो, सायद । 

सरकारी पद र प्रतिष्ठाबाट टाढै रहे उनी । पञ्चायतलाई बेलाबेला चस्किन थालेपछि राजा महेन्द्रबाट एक दिन मुख्य अञ्चलाधीशमार्फत झालाई दरबारमा बोलावट भयो । राजा महेन्द्रले झालाई ‘अञ्चलाधीश वा मन्त्री पद खाऊ तर पञ्चायतविरुद्ध नलेख’ भन्ने आग्रह गरे ।  झाले आफ्नो पत्रिकाको मूल्यतर्फ सङ्केत गर्दै राजालाई जवाफ फर्काए, ‘सरकार म दस पैसामा बिकेको मान्छेले त्यत्रो ठूलो पद खाने औकात र इच्छा छैन, माफ पाउँ ।’ त्यही रिसमा राजा महेन्द्रले बुढानीलकण्ठ स्कुल खोल्नका लागि जग्गा नपुग भएको भन्दै उनको २६ रोपनी पुर्ख्यौली जग्गा महेन्द्रले अधिग्रहणमा गरिदिए  । तर पनि उनी महेन्द्रका सामु झुकेनन् । 



लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई अर्जुन दृष्टि बनाएर पत्रकारिता गरेका झाले आत्मसन्तुष्टिबाहेक सबै गुमाए । पटक–पटक पक्राउ परे । जेलमा थुनिए । केही समय पत्रिका प्रतिबन्धमा पनि पर्‍यो । अञ्चलाधीशको कार्यालयदेखि अदालतसम्मको घनचक्करमा रुम्मल्लिनुपर्यो । धम्की त कति कति ! तर कहिल्यै पनि सत्तालाई प्रश्न गर्ने कर्मबाट उनी चुकेनन् । शिर झुकाएर,सम्झौता गरेर मखमली जीवन बाँच्ने चाहना राखेनन् । यसैले त ‘नेपाल टाइम्स’ फगत पत्रकारिता मात्र थिएन, आफैँमा आन्दोलन पनि थियो । पत्रकारिताको स्कुल पनि । 

झा आफ्नो पूरै शक्ति लगाएर सत्ताको पञ्चायती बेथितिसँग लडिरहे । लोकतन्त्रको पक्षमा उभिइरहे । उनका लागि पत्रकारिता पेसा थिएन,जीवनको लक्ष्य थियो । एक किसिमको मिसन नै  । राजनीतिक बन्देजको समयमा पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लेखिरहे । निरन्तर बोलिरहे । ऋषि दुर्वासाको उपनाम पाइरहे । यसैले उनी तत्कालीन शासकको वक्रदृष्टिमा परिरहे । उनको निर्भीकतालाई नारायणहिटी राजदरबारमा राज भइबक्सेका श्री ५ तानासाहले पनि समाप्त गर्न सकेनन् । 



२०४६ सालको जनआन्दोलन उत्सर्गमा पुग्दै जाँदा हिंसा हुन थालेपछि गणेशमान सिंहले जारी गरेको एउटा वक्तव्य निकै चर्चित रह्यो । त्यो वक्तव्यको एउटा अंश थियो– ‘...हरेक क्रियाको स्वाभाविक प्रतिक्रिया हुन्छ ।’ यो वक्तव्यको मस्यौदा झा ले नै कोरेका थिए । 

झाको भाषा चयन र वाक्य प्रयोगले विचार तथा विश्लेषणलाई नदीको तीव्र प्रवाहको रूप दिन्थ्यो । उनको हरेक वाक्यमा करेन्ट प्रवाह भएजस्तै लाग्थ्यो । उनका विचारहरू फरक र उत्तिकै आक्रामक हुन्थे । प्राञ्जल र अभिब्यञ्जनात्मक शब्दहरूको प्रयोगद्वारा राजतन्त्रको आलोचना गर्ने उनको कला गज्जब थियो । हरेक दिन साँझ प्रकाशित हुने दश पैसाको चार पाने नेपाल टाइम्सको सम्पादकीय पढ्न धेरै मानिस पर्खिएर बसेका हुन्थे । न्युरोडको पीपलबोटमा त्यो पत्रिका किन्न लाइन लाग्थ्यो । यो पत्रिकाको आनन्द नै यसको सम्पादकीय पढ्नुमा थियो । 

अदुवादेखि अमेरिकासम्मको विषयमा प्राञ्जल भाषासहित सम्पादकीय लेख्थे झा । सम्पादकीय लेखनमा झाको क्षमता अहिले पनि उनीसँग काम गरेका केही पत्रकारको स्मरणमा ताजै छ । नेपाल टाइम्समा झासँग पत्रकारिता सिकेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले आफ्नो पुस्तक ‘मेरो पत्रकारिता’ मा पत्रकारिताका आफ्ना गुरु झाले लेखेको एउटा दमदार सम्पादकीयबारे उल्लेख गरेका छन् । 

उनले आफ्नो पुस्तकमा लेखेका छन्–
सम्पादकीय लेख्दा उनको मान्यता थियो–भन्ने ठाउँ बचाउनुहोस्,अलिअलि भन्दै जानुहोस् र अन्तमा सबै भनिसक्नुहनेछ ।’ यस्तै कोमल,,विनम्र  तर कठोर उदाहरण थियो,एउटा सम्पादकीय । श्री ५ महेन्द्रका भाइ श्री ५ अधिकाजकुमार बसुन्धरा सरकारको निधनमाथि २०३४ भदौ १६ मा उनले लेखेको एउटा सम्पादकीय त्यसबेला निकै चर्चित थियो । सम्पादकीयको सार थियो,‘श्री ५ अधिराजकुमार बसुन्धरा सरकारको असामयिक निधनबाट तमाम नेपाली जनता मर्माहत भएका छन् । उनीहरू यस समय मौसूफ सरकारको राष्ट्रभक्ति तथा राष्ट्रिय सम्पदाप्रतिको मोह सम्झेर दुखित छन् । मौसुफ सरकार आफू विदेश सवारी भएको समयमा समेत राष्ट्रिय धरोधरप्रतिको मोहबाट मुक्त हुन नसकी आफ्नै साथमा धरोहरु र सम्पदा लिएर गइबक्सन्थ्यो ।’

बसुन्धरा शाह नेपालका प्राचीन मूर्ति बेच्ने धन्दा गर्थे भन्ने आम मान्यता थियो । तर कोही पनि बोल्न सक्दैनथे । जनताको त्यही मौन वाणीलाई झाजीले आफ्नो शब्दमा उतार्नुभएको थियो । कानुनबाट जोगिने गरी यसरी व्यक्त गर्ने कला र साहस उहाँमा पर्याप्त थियो ।

नेपाली भाषामा शब्द भण्डार छैन भन्ने मतप्रति पूरै विमति राख्थे, झा । अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक नभएको देशमा पत्रकारमा अभिधा, लक्षणा र व्यन्जनाको ज्ञान भएन भने पत्रकारिता प्रभावकारी नहुने ठम्याइ उनको थियो । उनीसँग यही विशेषता थियो, जसले उनको पत्रकारिता धारिलो बनाएको थियो । 

झाका जेठा छोरा सुनिल चन्द्र झाले सङ्कलन तथा सम्पादन गरेको ‘चन्द्रलाल झा : कलमको स्वाभिमानी सिपाही’ पुस्तकमा आफ्ना गुरु झाका सन्दर्भमा वरिष्ठ पत्रकार किशोर नेपालले लेखेका छन्, 

‘...उहाँलाई तत्कालीन सत्ताले पत्रकारिता गरेकै अपराधमा निरन्तर कारागारमा राख्यो । सत्यको मुख बन्द गरेर झुटको थुतुनो खोल्ने काममा कतै–कुनै कन्जुसी गरेन । चन्द्रलालजीलाई सरकारी गुमास्ताहरुले भारत र अमेरिकाको एजेन्ट भएको आरोप लगाएनन् कि नेपाली कांग्रेसको थिंक ट्यांकको मुख्य संयोजक भन्न नै हिच्किच्याए । तर उहाँ सधैँ पत्रकार रहनुभयो, न कहिल्यै कुनै पार्टीको झन्डा उचाल्नुभयो, न त कहिल्यै कुनै समाजको जुलुसमा सामेल हुनुभयो । नेपाल टाइम्सद्वारा प्रजातान्त्रिक आन्दोलनको अनवरत समर्थनमा उहाँको निहित स्वार्थ थियो–अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र नागरिकका मौलिक हक अधिकारको संरक्षण प्रजातान्त्रिक शासनले मात्रै गर्न सक्छ ।’​ 

पुस्तकमा नेपालले अगाडि लेखेका छन्,–

..चन्द्रलालजीलाई जसले जसरी सम्झिए पनि सम्झिने एउटा वाक्य साझा छ,उहाँ नेपाली समाजका लागि भोल्तेयर हुनुहुन्थ्यो...।’

काठमाडौंका रैथाने मैथिल ब्राम्हण परिवारमा जन्मिएका उनले पत्रकारितामा लागेर व्यक्तिगत रूपमा धेरै कुरा गुमाए । पारिवारिक सुख र समृद्धि उनका लागि टाढा भयो । तर पनि लोकतन्त्र र स्वतन्त्रताका लागि लडिरहे । प्रजातन्त्र पुनर्स्थापनापछि पत्रकारितामा प्रतिस्पर्धा बढ्यो । बैंकबाट ऋण लिएर उनले केही समय प्रेस र पत्रिका सञ्चालन गरे । तर उनीसँग ब्यवसाय गर्ने कला नभएको देखियो । २०५१ सालमा ‘नेपाल टाइम्स’ पनि बन्द भयो । कमजोर स्वास्थ्य र कमजोर आर्थिक स्थितीका कारण उनको सक्रियता पनि कम हुँदै गयो । 

झाले विशेषगरि पञ्चायतकालको २०२३ देखि २०४६ सालसम्म ‘नेपाल टाइम्स’ मा निरन्तर २३ वर्ष जे लेखे,त्यही नै पञ्चायतको मुत्युपत्र साबित भयो । तर २०४६ को अन्त्यपछि  पुराना शासक फालेर सिंहदरबार छिरेका नयाँ शासकका लागि झा सायद खोटो सिक्का भइसकेका थिए । यसैले उनी जीवनको पछिल्लो समय गुमनाम जिन्दगी बिताउन विवश भए । अनेक रोगले थलिएर मृत्युको बाटो लागे । तर उनको पत्रकारिता कर्म भने इतिहास बन्यो । 

  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया