logo-img

नेता-कार्यकतासँग सुजाताको आक्रोश : बिपीको सिद्धान्त छाडियो, कांग्रेस बदनाम हुन थाल्यो

नेपाली कांग्रेसकी नेतृ एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरूले बदनाम गरिरहेको टिप्पणी गरेकी छन् । कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बिपी कोइरालाको सिद्धान्त आत्मसाथ गरे मात्र संगठन जोगाउन सकिने पनि बताइन् । 

शनिबार काठमाडौंमा आयोजित ४२औँ बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरूले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरूले बदनाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् । 

‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बदनाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बदनाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले अगाडि भनिन्, ‘पार्टीभित्र जसले बिपीको विरासत बोकेको छ, जसले बिपीको सिद्धान्तलाई आत्मसात् गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ ।  मलाई अरू पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’ 

सिद्धान्तबिना राजनीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् । डा. शेखर कोइरालाले बिपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् । 

‘शेखर कोइरालाले बिपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बिपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,’ उनको भनाइ थियो । केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा.शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रूपमा डा.शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् ।  





  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया