logo-img

स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सेवाको प्रभावकारितालाई अझै बढाउन आवश्यक रहेको बताएका छन् । शनिबार वीर अस्पतालको १३५औं वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेकाले सीमित चिकित्सकीय शक्ति, सीमित भौतिक पूर्वाधार, सीमित स्रोतका बीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

उनले भने,‘देश आर्थिक हिसाबले समस्यामा छ । स्रोत बढाउन सक्ने अवस्था छैन । सीमित स्रोतभित्र शतप्रतिशत परिणाम प्राप्त गर्नेगरी काम गर्नुपर्ने स्थिति छ । पूर्वाधार विकासमा आजको भोलि नै केही भइहाल्दैन । दीर्घकालिन योजनाअनुसार बिस्तारै काम हुन्छ । तर, सेवाको प्रभावकारिता भने बढाउनुपर्ने हाम्रो बाध्यता छ ।’

चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाइहाल्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘सीमित जनशक्ति, भौतिक पूर्वाधारका लागि सीमित स्रोतका बीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ ।’

उनले वीर अस्पतालभित्रको सबै एकाइको समन्वय र एकीकृत स्वास्थ्य प्रणाली विकासमा जरुरी रहेको औँल्याए । व्यस्थापकीय पक्षमा सुधार गर्न सकेमा भइरहेको  साधन र स्रोतभित्र रहेर पनि राम्रो परिणाम दिन सकिने उनको विश्वास छ । 

उनले भने,‘वीर अस्पतालभित्रको सबै एकाइहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । व्यवस्थापन पक्षमा जे–जे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेको छैनौँ । यसमा सुधार गर्न सक्यौँ भने यही साधनस्रोतभित्र राम्रो परिणाम दिन सक्छौँ भन्ने मलाई लाग्छ ।’



उनले अस्पतालको इमर्जेन्सी सेवामा नागरिकको गुनासो रहेको भन्दै सबैले नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताए । उनले स्वास्थ्यकर्मीलाई काम गर्नका लागि सुरक्षित वातावरण निर्माणमा लागिपर्ने बताए । 

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्नका साथै सेवासुविधा विस्तार गर्ने उनको भनाइ छ । 



  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया