logo-img

अमेरिकाको सात सहरमा गुञ्जिँदै ‘नेपथ्य’

नेपालीपनमा रमाउने संसारभरिका श्रोता/दर्शकलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्ने भएको छ ।  

नेपथ्य छैटौँपटक गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्यान्डले यसपालिको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरमा आफूलाई प्रस्तुत गर्नेछ ।

सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले ३ अगस्टमा कोलोराडोको राजधानी डेनभर सहरमा आफूलाई उभ्याउने छ । अग्ला पर्वत, नदी र जंगलले घेरिएको भूपरिवेष्टित राज्यका रूपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीको बसोबास छ ।

यस स्थानमा नेपथ्यले पहिलोपटक सांगीतिक पाइला टेक्न लागेको हो । डेनभरको छेउमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ ।

त्यसपछिको दोस्रो प्रस्तुति अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । क्यालिफोर्निया राज्यको यसै सहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ । 



तेस्रो प्रस्तुतिको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्यान्डले १७ अगस्टमा दिन आफूलाई प्रस्तुत गर्नेछ । यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।

त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो । यसपालि ब्यान्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफूलाई उभ्याउँदैछ । विशाल एवं भव्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरूलाई अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्यान्डले लिएको छ ।



त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ ।  अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपालि भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरू पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।

न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्यान्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ!’ को प्रेक्षालयमा आफूलाई प्रस्तुत गर्नेछ ।

यसरी अमेरिकाका फरक फरक सहरहरूमा आफूलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्यान्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको श्रृंखलाबद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो । 

नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङ्टन डिसिमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरूमा ब्यान्डले न्युयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।  

गत वर्ष मात्रै छेवैको क्यानडामा श्रङ्खलाबद्ध सांगीतिक यात्रा गरेको ब्यान्डले अमेरिकामा भने कोभिड महामारीपछि यो पहिलो यात्रा गर्न लागेको हो । यसपालिको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।

कलाकार, प्राविधिक र व्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ । अमेरिकाका सबै कन्सर्टमा दर्शकले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको अनधिकारिक वेबसाइट nepathya.com.np  मार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

  • प्रकाशित मिति : साउन १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया