logo-img

पोखरामा सवारीसाधन ठप्प, व्यवसायीले यात्रुवाहक साधन ग्यारेजमा थन्काए

मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । 

गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्बाध सञ्चालन भइरहेका छन् । 

यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सात बुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेश भर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिए ।

‘हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरू सरकार समक्ष राखेका थियौँ, सरकारले कुनै पनि चासो नदिएपछि आजदेखि प्रदेश भर सार्वजनिक यातायात घर तथा ग्यारेजमा थन्काएर बसेका छौँ’, उनले भने । 

प्रदेश सरकारले निजी सवारीसाधन (रातो प्लेट) मा यात्रु बोक्न दिने गरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको आरोप व्यवसायीको छ । यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई यात्री बोक्न दिने गरी कार्यविधि बनाएको छ ।

यातायात व्यवसायीसँग परामर्श नगरी एकलौटी रूपमा निजी सवारीसाधनलाई यात्री ओसारपसार गर्न वैधानिकता दिन लागिएकोप्रति यातायात व्यवसायी महासङ्घको आपत्ति रहेको अध्यक्ष पौडेलले बताए । 



यातायात व्यवसायीले यातायात प्राविधिक करण गठन गरी सञ्चालनको कार्यविधि तयार गर्ने, यातायात, मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्ने, श्रम आयोग गठन, वैज्ञानिक भाडा दर समयानुकूल समायोजन गर्ने, सडक सुरक्षा योजना लागू गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् ।  



  • प्रकाशित मिति : साउन १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया