logo-img

मिस माल्टा चेरिस काठमाडौंमा, ढाका टोपी र पञ्चेबाजाका साथ स्वागत

मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भइन् . उनलाई नेपाल पर्यटन बोर्डको अगुवाइमा स्वागत गरियो ।

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । 

उनीहरूको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ ।  नेपाली कामदारको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरू मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । 

यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिए ।  



हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटक नेपाल भित्रिने गरेका छन् ।  उपयुक्त प्रचारप्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक बढ्न सक्ने सरोकारवालाको भनाइ छ । 
‘मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका मान्छेले नेपाल घुम्ने ठाउँ रहेछ भन्ने जानकारी पाउँछन् । यो हाम्रो लागि राम्रो पक्ष हो’, भण्डारीले भने, ‘त्यसमाथि उनीहरूलाई माल्टाका सबै मिडियाले फलो पनि गरिरहेका हुन्छन् । उनीहरूले नेपालबारे डकुमेन्ट्रीसमेत बनाउने तय भएको तथा मिडियाहरूमा भ्रमणबारे चासो हुने भएपछि स्वाभाविकरूपमा माल्टामा नेपालको पर्यटनको प्रमोट गर्न सकिन्छ ।’



मिस माल्टामा कोरियोग्राफरका रूपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारीको पहलमा अहिले नेपाल भ्रमण गराइएको बताइएको छ । 

टोली नेपाल भ्रमण पूरा गरेर २२ साउनमा स्वदेश फर्किनेछ । मिस माल्टालाई स्वागत गर्न एनआरएनए माल्टाका रेम्स खनाललगायत समेत विमानस्थलमा सहभागी थिए ।

  • प्रकाशित मिति : साउन १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया