logo-img

पलपलमा रङ फेर्ने रारा :  क्षणभरमै बन्छ कञ्चन अनि नीलो बैजनी, बढ्दै छन् पर्यटक [तस्बिरहरू]

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मात्रै नभएर नेपालको सबै भन्दा ठूलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरू आउने क्रम बढ्दै गइरहेको हो । 

‘रारा एक पटक पुग्नै पर्छ’ भन्ने मान्यताका साथ आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को साउन देखि असार अन्तिम एक वर्षमा रारामा १७ हजार दुई सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् । 

जसमा महिला पुरुष गरेर १७ हजार, सार्क नागरिक ६० जना, विदेशी नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेका रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका निमित्त कार्यालय प्रमुख जयहरी धितालले बताए । 



गत वर्ष ११ हजार पर्यटक रारा पुगेका थिए । यो वर्ष ६ हजारले वृद्धि भएको छ । रारा घुम्ने समय फागुनदेखि असार अन्तिमसम्म र असोजदेखि मङ्सिर महिनासम्म उपयुक्त मौसम मानिन्छ । 



सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको सङ्ख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्ग हुँदै दैलेख, कालिकोट, जुम्ला, सिञ्जा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् । हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा आउन रमाउने गरेका छन् ।

रारा आउने पर्यटक घोडा चढेर मुर्माटप, महादेव मन्दिर, लागुडा महादेव, माझघट्, मुमा गाउँसम्म पुगेर फर्किने गरेका छन् । रारामा आएका पर्यटक घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, रारामा रहेको दुलव असला माछा अवलोकन गर्ने गरेका छन् ।



समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला । सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य वर्णन गर्न लायकको हुन्छ । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग जस्तो देखिन्छ ।

गत वर्षको साउनदेखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुले जनाएको छ ।

सकारात्मक पक्षको साथै यस ठाँउको केही नकारात्म पक्षहरू पनि छन् जसलाई हामीले अन्देखा गर्न सक्दैनौँ । कर्णाली राजमार्ग व्यवस्थित नहुँदा ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान हुन सकेको छैन । यसले गर्दा रारा पुग्ने पर्यटक एक पटक आइसकेपछि पुन आउन आनाकानी गर्ने गरेको पाइन्छ । 

यसको साथै, नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नति नहुँदा, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको पर्यटकहरूको गुनासो रहेको छ । यस्ता समस्याहरू समाधान गर्न सके अझै बढी पर्यटकलाई भित्राउने सकिने अनुमान गर्न सक्छौँ ।  

  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया