काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौंमा अबदेखि तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायत भौतिक संरचना निर्माण गर्न नपाइने जानकारी गराएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत मेयर साहले यस मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनीसमेत दिएका छन् । काठमाडौंका नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने उनले बताएका हुन् ।
उनले काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटरभित्रको जग्गा खाली गराउने चेतावनी दिएका छन् । यी क्षेत्रलाई सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनले उक्त चेतावनी दिएका हुन् ।
‘अब तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने छ । तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति मिल्ने छैन,’ उनले लेखेका छन्, ‘तसर्थ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनुहुनेछ ।’
सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै बालेनले तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।