logo-img

सफ्टवेरिका कलेजमा ‘टेक एक्स २०२४’ प्रदर्शनी, विद्यार्थीको उत्साहजनक सहभागिता

सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्स २०२४’ प्रदर्शनीमा विद्यार्थी र शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको छ । साउन १५ गतेदेखि आयोजना भएको ‘टेक एक्स २०२४’ मेलामा एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शनी गरिएको छ ।आयोजनामा रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी गरिएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तयार गरेका परियोजनाहरूलाई कलेजले हेरक वर्षजसो प्रदर्शनी गर्ने गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरू हेर्न विद्यार्थी, कर्पाेरेट क्षेत्र र सर्वसाधारणको सहभागिता उल्लेखनीय थियो । प्रदर्शनीमा स्वचालित एआई गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआई रोबटिक शिक्षकको अवलोकन गर्न पाइन्छ । पासवर्ड क्र्याकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखिएको छ ।

कलेजले बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोबोट वारलगायतका ३० भन्दा बढी परियोजना प्रदर्शन गरिएको छ ।प्रदर्शनीमा ‘रोबोट वारियर्स लिग २०२४’ कोसमेत आयोजना गर्ने योजनामा कलेज रहेको छ । अहिले उक्त लिगको तयारी भइरहेको र केही महिनाभित्रै विभिन्न कम्पनीको प्रतिनिधित्वमा ४० भन्दा बढी रोबोटहरूलाई रोबो वार ब्याटलमा सहभागी गराइने कलेजले जनाएको छ ।



विद्यार्थीले प्रत्यक्ष रूपमा आइटीको क्षेत्रले ल्याउन सक्ने परिवर्तन, यस क्षेत्रका विशेषता र यसले प्रदान गर्ने अवसर विषयमा जानकारी दिने उद्देश्यले नै यो कार्यक्रमको आयोजना गरिएको कलेज जनाएको छ । ​आइटी अध्ययन किन आवश्यक छ भन्ने ज्ञान ‘टेक एक्स’ जस्ता प्रदर्शनी दिने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । विद्यार्थीले अध्ययन गर्ने क्रममा तयार गरेका प्रोजेक्टहरूको प्रदर्शन गर्नका लागि पनि यो मेलाको आयोजना गरिएको उनले बताए ।



आइटी क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने देखाउनको लागि पनि यस्ता कार्यक्रम कलेजले आयोजना गर्ने गरेको उनले बताए । कुनै एक ठाउँमा बसेर विश्वभरको काम राम्रो पारिश्रमिकमा गर्न सकिने भएका कारण पनि पछिल्लो समय नेपाली विद्यार्थीहरू यो क्षेत्रमा आकर्षित हुन थालेको उनले बताए ।

सरकारले चाहेको खण्डमा नेपाललाई आइटी हब बनाउन सक्ने उनले बताए । आवश्यक नीति निर्माण गरेर सरकारले आइटी क्षेत्रका ठूला लगानी भित्र्याउन सकेको खण्डमा नेपालको विकासले एक–दुई दशकमै फड्को मार्न सक्ने उनको बुझाइ छ । यस क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सहज वातावरण सिर्जना गरिदिएर नीति निर्माण गर्न सकेको खण्डमा आइटी क्षेत्रमा अवसर नै अवसर रहेको उनको बुझाइ छ ।

साउन १५ गते देखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ । प्रविधिमा रुचि राख्ने जो–कोहीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्ने कलेजले जनाएको छ ।

 

 

  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया