उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका लक्ष्यलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिकरूपमा निर्धारण गरिएका लक्ष्य पूरा गर्नका लागि आ-आफ्नो जिम्मेवारीअनुसार परिणाम निकाल्न निर्देशन दिएका हुन् ।
उनले राष्ट्रिय महत्व र गौरवका आयोजना, प्रतिफल दिने आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ बजेट कार्यान्वयन कार्ययोजना तयार परेको छ ।
अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि १ सय ७५ वटा ‘माइलस्टोन’ निर्धारण गरेको थियो ,जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् भने २८ वटाको काम सुरु हुन सकेन ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, अर्थ मन्त्रालयअन्तर्गतका निकाय र विभाग प्रमुखले प्रगतिको समीक्षा गर्नुका साथै सुझाव दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।