इलाममा पछिल्लो समय अलैंचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैंचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।
गत वर्ष प्रतिमन (४० किलो) ८० हजार रुपैयाँमा बिक्री भएको अलैंची यस वर्षको सुरुमा ८५ हजार रुपैयाँ प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैंचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैंचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए ।
‘अलैंचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्,’ उनले भने । यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उनले बताए ।
मूल्य बढी भएकै कारण अलैंचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैंची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ ।
समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैंची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैंचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ ।
अलैंची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा ५ रुपैयाँका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
किसान पोख्रेलका अनुसार अलैंची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए । ‘अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ’, उनले भने ।
वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैंचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ ।
नेपालको पूर्वी पहाडी क्षेत्र अलैंची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैंची उत्पादनका लागि उर्वर भूमि मानिन्छ । अलैंची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पुर्याइएको अलैंची व्यवसायी महासङ्घले जनाएको छ ।
नेपालका लागि अलैंचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशमा हुने गरेको महासङ्घको भनाइ छ । हाल ८५ हजार रुपैयाँ प्रतिमनमा अलैंची खरिदबिक्री भइरहेको इलाम बजारका अलैंची व्यापारी प्रकाश अग्रवालले बताए । यस वर्ष अलैंचीको मूल्य बढेर १ लाख रुपैयाँ नाघ्ने अनुमान गरिएको उनको भनाइ छ ।
पूर्वी क्षेत्रमा उत्पादन भएको अलैंची झापाको काँकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैंची निर्यात हुँदा रु सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको कारोबार भएको थियो । आव २०७९/८० मा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९९ लाख ९१ हजार १ सय ४९ किलो अलैंची निर्यात गरेको थियो । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।