logo-img

गर्जेनीको पहिरोले तीन जिल्लाबासीलाई सधैं सास्ती

प्युठानको माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नु परेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । 

दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटकपटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ ।

दाङ हुँदै बुटवल, काठमाडौं, भैरहवा, भरतपुर, नेपालगञ्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन् । प्रत्येक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नु परेको रोल्पा सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गरे ।

भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ । भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचनाअनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकैपटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ । शनिबार मात्र गर्जेनीको पहिरो ९ घण्टापछि हटाएर यातायात सञ्चालन गरिएको थियो ।

प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता सुनाए । सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न ६ लाख खर्च भइसकेको छ ।  



‘सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ’, इन्जिनियर पुनले भने, ‘त्यसका ५ करोड ५० लाख रुपैयाँ लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन ।’ कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उनको ठम्याइ छ । रासस   



  • प्रकाशित मिति : साउन २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया