logo-img

अकबरे बेचेर वर्षमा १५ लाख आम्दानी, बजारको छैन चिन्ता

इलामको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरूको मुख ताक्नु परेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उनले १५ लाख रुपैयाँ आर्जन गर्दै आएका छन् ।

मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिकरूपमा अकबरेखेती सुरु गरेका उद्यमी कार्कीले वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

‘गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो’, कार्कीले भने, ‘प्रतिकेजी २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।’  

यो वर्ष उनले ५ हजार बोट अकबरे रोपेका छन् । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गरेका हुन् । उत्पादित अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उनी बताउँछन् । 



‘सबै खर्च कटाएर वार्षिक १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु,’ कार्कीले भने, ‘दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सानी दिनैपिच्छे पनि टिप्न पाइन्छ । तर, पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, १ हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ ।’

हरियो खुर्सानी प्रतिकेजी २ सय ५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।



सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गरेका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको कार्कीले सुनाए । उनले अबकरेका साथै गोलभेँडा, भन्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आएका छन् । रासस 



  • प्रकाशित मिति : साउन २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया