नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्नेसहित विभिन्न पाँचबुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माग सार्वजनिक गरिएको हो ।
इन्टर्नसिपसम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै एकवर्षे इन्टर्नसिप गर्न पाउनुपर्ने उनीहरूको पहिलो माग छ । नेपालमै इन्टर्नसिपको व्यवस्था गरेमा दक्ष युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने एसोसिएसनको सुझाब छ ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थी अध्ययन गर्नका निम्ति मापदण्ड तोकिनुपर्ने, मापदण्डविपरीत रहेका कलेजलाई कालोसूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टलाई कारबाही गरिनुपर्ने उनीहरूको माग छ ।
साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति छ महिना इन्टर्नसिप गर्नैपर्ने व्यवस्था संशोधन हुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने र परीक्षाको प्रश्नपत्रमा एकरूपता हुनुपर्ने एसोसिएसनको माग छ ।
नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष डा. नवीन यादवले आफूहरूको माग सम्बोधन गर्ने सन्दर्भमा सरकार संवेदनशील नदेखिए चररणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए ।
कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको आन्दोलनका कारण आफूहरू नेपाल फर्किन बाध्य भएको उनले सुनाए । बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आफूहरूले यी माग अगाडि सारेको उनले बताए ।
अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसिपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै मेडिकल काउन्सिलमा जाँदा अपमानित हुनुपरेको बताए ।
त्यस्तै, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी स्तुती कार्कीले सरकारले इन्टर्नसिप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताइन् । ‘हामीले उहाँ इन्टर्नसिप गर्दा उतैको औषधिको नाम सिक्नुपर्छ । जुन कुरा यहाँ आएर हामीलाई नेपालमा कुनै पनि काम लाग्दैन । हामीले यहाँ नेपालमा आएर नेपालकै औषधिको नाम सिक्यौँ भने छिटै मेडिकल सिस्टमलाई पनि बुझ्न सक्छौँ,’उनले भनिन् ।
साथै, बंगलादेशमा चर्किरहेको आन्दोलनका कारण आफूहरूको पढाइ प्रभावित भएको उनले सुनाइन् । अहिले पाँचवटा प्रोफेसनल परीक्षा र इन्टर्नसिप गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसिपचाहिँ नेपालबाटै गर्न पाउनुपर्ने माग गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।