logo-img

ती थिए, चेतनाले सिञ्चित चेतन

भैरहवाका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । जिल्लामा रहेर विभिन्न विधामा समाचार लेख्ने र लुम्बिनीको प्रवर्द्धनमा क्रियाशील पन्तको आइतबार राति ९ : १० बजे सिद्धार्थनगर नगरपालिका–६ दुर्गा कोलोनीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ६६ वर्षका थिए । 

पन्त विगत तीन वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । पन्तले नेपाल टेलिभिजन र जिल्लाका मिडियामा तीन दशक बढी समयसम्म पत्रकारिता गरेका थिए । लुम्बिनीको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफै पुगेर पनि बुद्ध–जन्मस्थल लुम्बिनीका  अभियान नै चलाउँदै आएका थिए । 

लुम्बिनी विकास कोषको सद्भावना दूतसमेत रहेका पन्त पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरू चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युब च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आएका थिए। 



२०४५ सालदेखि पत्रकारितामा आबद्ध उनले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए । पत्रकारिताभन्दा अघि २३ वर्ष उनी नेपाल राष्ट्र बैंकमा कार्यरत थिए । सिद्धार्थ होटेल संघको स्थापनाकालदेखि संस्थापक सल्लाहकार रहेका सिद्धार्थ होटेल संघका अध्यक्ष तथा होटेल संघका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।
 
लुम्बिनीको विकास तथा प्रचारप्रसारमा पुर्‍याएको योगदान स्वरूप नेपाल सरकार, पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, होटेल संघ नेपाल, सिद्धार्थ होटेल संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही चेम्बर अफ कमर्स (रुपन्देही उद्योग व्यापार संगठन), लुम्बिनी होटेल संघ, लुम्बिनी प्रेस क्लब, पन्त ग्लोबल कन्सल्टेन्सी लगायतका संस्थाहरूले पन्तलाई विभिन्न पुरस्कारहरूले सम्मान गरेको थियो । उनले लुम्बिनी प्रेस क्लबको स्थापनामा पनि योगदान पुर्‍याएका थिए । 

पिता नगेन्द्र प्रसाद पन्त र आमा इन्द्रकुमारी पन्तका पाँच भाइ छोरा र दुई छोरीमध्ये उनी जेठा हुन् । उनका तीन भाइ र एक बहिनी छन् । पन्त परिवारमा श्रीमती गंगा पन्त र दुई छोरा बुहारीहरू छन्। स्वर्गीय पन्तको भैरहवास्थित स्वर्गद्वारी घाटमा आज अन्त्येष्टि गरिएको उनका कान्छा भाइ धीरेन्द्र पन्तले फरकधारलाई बताए ।





  • प्रकाशित मिति : साउन २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया