logo-img

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गरेका थिए । 

४० सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेका छन् । भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित भएनन् । 

सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्यो । एमाले संसदीय दलका नेतासमेत रहेका कँडेललाई एमालेका नौ, कांग्रेसका १४ जना सदस्यले मत दिएका थिए । 

मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एकजना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेश सरकार बनाउनका लागि कम्तीमा २१ मत आवश्यक पर्छ ।



मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने बताए । उनी चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १३ गते पहिलोपटक प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । 

त्योबेला कँडेलले माओवादी र समाजवादीको समर्थन पाएका थिए । केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमालेबीच सरकार गठन भएको छ । गत साउन ७ गते सत्तासाझेदार दल नेकपा (माओवादी)ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । 



कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री कँडेलले आइतबार मात्रै कांग्रेसका चारजना मन्त्री नियुक्त गरेका थिए । 



  • प्रकाशित मिति : साउन २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया