जीवन होस् वा पाठशाला, कसैका लागि खुसी त कसैका लागि दुःखी बनाउने कुरा हो–परिणाम । गत साता यस्तै भयो । राष्ट्रिय परीक्षा बोर्डले साउन १८ मा १२ कक्षाको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्यो । त्यो परिणामले ४७.०९ प्रतिशत विद्यार्थीलाई निराश बनायो भने ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएर फुरुंग भए ।
यसपटकको परीक्षामा देशभरबाट ३.९६ प्रतिशत जिपिएसहित सर्वाेत्कृष्ट नतिजा हासिल गर्न केही विद्यार्थी मात्र सफल भए । त्यसैमध्येका एक हुन्– दमौलीबाट काठमाडौं पढ्न आएका १८ वर्षीय लक्का जवान गौरभ सापकोटा ।
तनहुँको व्यास नगरपालिका–४ दमौली, सिमलटारका निम्न मध्यमवर्गीय परिवारका ऋषिराम सापकोटा र आमा सुशीला अधिकारीका कान्छा छोराले जुन नतिजा प्राप्त गरे, त्यो सापकोटा परिवारका लागि गौरवमय पल हुनु स्वाभाविक हो । यसैले अहिले सापकोटा परिवारका सदस्यहरू दमौलीको सिमलटारदेखि काठमाडौं, थापागाउँस्थित लेखनकुञ्जसम्म बधाई ग्रहणमा व्यस्त छन् ।
सानैदेखि अध्ययनमा तीक्ष्ण गौरभ प्रारम्भिक बाल विकासदेखि नै प्रथम हुँदै आएका थिए । उनी अहिलेसम्म दोस्रो भएको रेकर्ड नरहेको उनका दाइ सौरभ सापकोटा बताउँछन् । भाइको सफलताबाट दंग पर्दै सौरभले सुनाए, ‘नर्सरीदेखि नै भाइ पहिलो हुँदै आएको छ । अहिलेसम्म दोस्रो भएको छैन । अहिले कक्षा १२ मा पनि ३.९६ जिपिए ल्याएको छ । अरूले पनि त्यति जिपिए ल्याएका छन्, तर त्यो भन्दामाथि जिपिए ल्याउने भेटेका छैनौँ ।’
अध्ययनसँगै अन्य क्रियाकलापमा पनि अब्बल गौरभ राम्रो नतिजा आएपछि यतिबेला मख्ख छन् । उनलाई बधाई तथा शुभकामना दिनेको ओइरो नै लागेको छ । थुप्रैले सामाजिक सञ्जाल फेसबुकमा उनको फोटो राखेर बधाई दिएका छन् । फोनमार्फत बधाई दिनेको पनि कमी छैन । सर्वाेत्कृष्ट नतिजा ल्याएकोमा उनलाई अहिले विभिन्न संघसंस्थाले सम्मानका गरिरहेका छन् । उनलाई अहिले बधाई थाप्न भ्याइनभ्याई छ ।
प्रारम्भिक बाल विकास कक्षादेखि ७ सम्म तनहुँको विनायक मेमोरियल एकेडेमीमा अध्ययन गरेका उनले त्यसपछि भने सरकारी स्कुल रोजे । कक्षा ८ देखि १० सम्म दमौलीमै रहेको उत्कृष्ट सामुदायिक विद्यालय सत्यवती माविमा अध्ययन गरेका उनले त्यहाँ पनि राम्रो नतिजा हासिल गरे ।
कक्षा ९ मा ४ जिपिए ल्याएका गौरभले माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि ३.७ सात जिपिए ल्याएर उत्तीर्ण गरे । त्यसपछिको अध्ययन देशको राजधानी काठमाडौंबाट पूरा गर्ने योजना बनाएका उनले डिल्लीबजरस्थित सिबिएम कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् ।
एसइईमा उत्कृष्ट नतिजा हासिल गरेकाले उनलाई सिबिएम कलेजले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर उपलब्ध गराएको थियो । कलेजले दिएको उक्त अवसरलाई सदुपयोग गर्दै गौरभले कक्षा १२ मा सर्वाेत्कृष्ट नतिजा हासिल गरेका छन् । कलेजमा अध्ययनसँगै अन्य क्रियाकलपामा संलग्न उनले कैयौँपटक वादविवाद, कविता लेखन, नाटकलगायतविभिन्न प्रतियोगितमा जित हासिल गरेका छन् ।
उनलाई लेखन क्षेत्रमा पनि औधी रुचि छ । सिबिएम प्रभाह मञ्च, आइटी क्लब अफ सिबिएमजस्ता विद्यार्थी सम्मिलित क्लबमार्फत आयोजना हुने विभिन्न कार्यक्रममा उनले आफ्नो दरिलो सहभागिता जनाउँथे । सिबिएम प्रभाह मञ्च गौरभले नै निर्माण गरेको क्लब हो । नेतृत्व गर्न मन पराउने उनी अध्ययनसँगै अन्य क्रियाकलपामा उत्तिकै अब्बल छन् ।
कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा कम्प्युटर साइन्स र म्याथम्याटिक्स विषय अध्ययन गरेका उनले अबको उच्च शिक्षा कहाँबाट पूरा गर्ने भनेर योजना बनाइरहेका छन् ।
सकेसम्म नेपालमै अध्ययन गर्ने योजना रहेको सुनाउने गौरभले अध्ययन गर्न चाहेको विषय भने नेपालका शैक्षिक संस्थाहरूमा अध्यापन हुने गरेको छैन । उनी स्नातक तहमा आइटीसँगै अर्थशास्त्र अध्ययन गर्न चाहन्छन् । तर, आइटी र अर्थशास्त्रसँगै अध्यापन गराउने शैक्षिक संस्था नेपालमा नभएकाले केही अन्योल सिर्जना भएको उनी सुनाउँछन् । विश्वका जुनसुकै कुनामा पुगेर अध्ययन गरे पनि नेपालको उन्नति र विकासमा आफ्नोतर्फबाट गर्न सकिने सहयोग गर्ने सोच उनको छ ।
नेपाली साहित्यमा निकै रुचि राख्ने गौरभ कथा, कविता, वादविवाद र नाटकजस्ता क्रियाकलापमा सधैँ सक्रिय रहन्छन् । उनले केही नाटकको निर्देशन पनि गरेका छन् ।
बजेटसम्बन्धी लेख तथा विश्लेषण गर्न पनि रुचाउँछन्, उनी । कोरोना महामारीपछि प्रविधिको प्रयोगले ल्याएको सकारात्मक तथा नकारात्मक विषयमा अध्ययन, अनुसन्धानमा उनले आफ्नो समय सदुपयोग गरिरहेका छन् ।
धाराप्रवाह बोल्ने गौरभले फरकधारसँग आफ्नो स्कुले जीवनबारे बेलिबिस्तार लगाएका छन् । एकपटक गौरभलाई सुनौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।