logo-img

कैलाली-कञ्चनपुरका राना समुदाय आज तीज मनाउँदै
फाइल तस्बिर

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन् । राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरुको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ ।

तीज राना समुदायको महान पर्व हो । हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्दछन् । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राना समुदायमा तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने गर्छन् । तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई खुवाउने परम्परा रहेको भीमदत्त नगरपालिका–१६ का स्थानीय केशमति रानाले बताइन् । 

दिदीबहिनीले आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै परम्परागत पोसाकमा सजिएर तीज पर्व मनाउने गर्दछन् । यो समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन् । सावनकी डोला (पिङ) मा दिदीबहिनी तथा साथी भाइसँग रमाइलो गर्दछन् ।  

तीजमा राना समुदायका महिलाहरू दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गर्दछन् । साँझपख कुशको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन् । त्यसरी काटिएको कुशलाई नदीमा लगेर सेलाउने चलन छ । नदीमा कुश बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति लामो हुने धार्मिक विश्वास रहेको स्थानीय गोमती रानाले बताइन् ।

‘जति लामो पानीको धार हुन्छ दाजुभाइको त्यति लामो आयुहोस् भन्ने कामना गर्दछौँ’, उनले भनिनन् । तीजमा विवाहित महिलासमेत माइतमा आएर रमाइलो गर्ने गर्दछन् ।

राना थारू समुदायको महिलाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै रमाइलो गर्ने गर्छन् ।  रासस 





  • प्रकाशित मिति : साउन २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया