प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र र स्थानीय सरकारबीच समन्वयका काम गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा उनले ‘कोभन्दा को ठूलो’ भन्ने ढंगले नभई मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए ।
प्रधानमन्त्रीसँगकाे भेटमा काठमाडौं महानगरका मेयर बालेन शाह उपस्थित थिएनन् । उनको साटो उपमेयर सुनिता डंगोल सिंहदरबार पुगेकी थिइन् । भेटमा प्रधानमन्त्रीले जनप्रतिनिधि जनताका पक्षमा काम गर्न निर्वाचित भएकाले अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरे ।
उनले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि भइरहेको दमनलाई संकेत गर्दै रोक्न आग्रह गरे । ‘जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न उनले आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।