logo-img

मन्त्री बन्ने विषयमा लुम्बिनी कांग्रेसमा भाँडभैलो : प्रमुख सचेतकको राजीनामा, प्रदेश सभापतिले दिए विद्रोहको चेतावनी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले राजीनामा दिएका छन् । सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान नपाएपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

प्रदेश सभा सचिवालयले उपलब्ध गराएको गाडीसमेत बुझाएर उनी काठमाडौं आएका छन् । मन्त्रीको शपथ लिने तयारीमा प्रदेश प्रमुखको कार्यालयमा पुगेका तिमिल्सिनालाई अन्तिम समयमा मन्त्री बन्न रोकिएको थियो ।

तिमिल्सिनालाई ९ साउनमा प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर सरकारमा पठाउने चर्चा थियो । ९ गते मन्त्री बनेकाहरुलाई १८ साउनमा मन्त्रालय तोक्ने र तिमिल्सिनालाई मन्त्रीको शपथ खुवाउने भनिए पनि सभापति देउवाले रोकेका थिए । तिमिल्सिना पार्टी संस्थापन समूहकै हुन् । 

प्रदेशमा इतर समूहले भागवण्डा मागेकाले अन्तिम समयमा उनलाई रोकिएको थियो ।अहिले लुम्बिनीमा कांग्रेसबाट ४ मन्त्री बन्दा संस्थापनबाट ३ र इतर समूहबाट १ जना मन्त्री बनेका छन् ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारमा मन्त्री पठाउने क्रममा केन्द्रले कुनै सल्लाह नगरेको र सिंगो प्रदेश समितिलाई नै बाइपास गरिएको भन्दै प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय सभापति देउवालाई ध्यानाकर्षणपत्र बुझाएका थिए । उनले बिहीबारको केन्द्रीय समिति बैठकमा पनि सोही कुरा दोहोर्‍याए । 

मन्त्री सिफारिसको निर्णय नसच्याए प्रदेशभित्रैबाट पार्टीमा विद्रोह हुने उनको चेतावनी छ । उनले शक्तिशाली गठबन्धनका नाममा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई कुल्चेर नहिँड्न पनि नेतृत्वलाई चेतावनी दिएका छन् ।



पुनले पार्टीको अनुशासन उल्लंघन गर्नेहरुले पार्टी तथा सार्वजनिक लाभका पदमा मनोनीतमा प्राथमिकता पाएको, त्यसले इमान्दार कार्यकर्तालाई निरास गराएको, भ्रातृ तथा शुभेच्छुक संगठनलाई मनोमानी रुपले दुरुपयोग गरिरहेको, केन्द्रबाटै नेतृत्व तोक्ने, समयमा नियमित अधिवेशन नगराउनेलगायतका गलत प्रवृत्ति सच्याउन पनि पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

 



  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया