जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नै पार्टीका मुख्यमन्त्री सतीश सिंहलाई स्पष्टीकरण सोधेका छन् । सिंहले जम्बो मन्त्रिमण्डल बनाएपछि अध्यक्ष राउतले उनीसँग स्पष्टीकरण सोधेका हुन् ।
मधेशमा २० सदस्यीय मन्त्री मण्डल गठन भएपछि अहिले सो सरकार विवादमा तानिएको छ। नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनले मधेस प्रदेशमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकार बनाउनमा सघाएको छ । विवादमा आएपछि राउतले मधेस सरकार जनमतको मात्रै नभएर गठबन्धनको भएको प्रतिक्रिया दिने गरेका छन् ।
मधेस सरकारमा जनमत पार्टीको केही नचल्ने गुनासो गर्दै उनले कति मन्त्री राख्ने, कति राज्यमन्त्री राख्ने, कुन–कुन मन्त्रालय कसले राख्ने कुराको निर्धारण कांग्रेस–एमाले गठबन्धनले गरेको बताएका छन् ।
मधेस प्रदेशमा जनमत पार्टीको सिट संख्या निर्णायक नभएको र अहिलेकै गठबन्धनमा पनि जनमतविना पनि मधेस सरकार बन्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले चाहेर मात्र केही पनि नहुने बताएका थिए ।
शनिबार भने उनले पार्टीसँग कुनै सल्लाह नै नगरी मन्त्रिमण्डल विस्तार गरेको भन्दै अध्यक्ष राउतले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।