पर्वतको जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउ खेतीबाट बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन् ।
तीन वटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनले बताइन् । ‘च्याउ खेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन’, उनले भनिन् । गोब्रे च्याउ प्रतिकेजी पाँच सय रुपैयाँ र कन्ये दुई सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।
कच्चा पदार्थसहितका सामग्री तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनियाँ पनि उत्पादन गर्दै आएकी छन् । ‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहयोग गर्ने गरेकी छु’, खत्रीले भनिन् । श्रीमान्को सहयोगमा उत्पादित सागसब्जी बजार पुर्याउने गरेको उनले सुनाइन् ।
जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आकर्षण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउ खेतीमा अनुदान बढाउँछौँ’, उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।