logo-img

के हो जन्मजात मुटुरोग ? कसरी जोगिने ?

गत साता आइतबार (२० साउन)मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेडियाट्रिक वार्डमा ८० दिनका एक शिशु भर्ना गरिए । परीक्षणबाट उनमा डेक्सट्रो–ट्रान्पोजिसन अफ द ग्रेट आर्टरिज (डि–टिजिए) अर्थात् मुटुको जन्मजात समस्या भएको पुष्टि भयो । मुटुमा जटिल समस्याका कारण शिशुको शरीर नीलो भइसकेको थियो  । अक्सिजनको स्याचुरेसनसमेत निकै कम भएको थियो ।

चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरे । जन्मजात देखिएको धमनीको शल्यक्रियापश्चात् शिशुको अवस्था सामान्य छ । परिवारले अन्तिम अवस्थामा मात्र अस्पताल पुर्याएको भए पनि त्यसपछिको उपचार समयमै पाउँदा ती शिशुको ज्यान बचेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । 
यो त एक प्रतिनिधि घटना मात्र हो । 

मुटुमा समस्या भएका अधिकांश बालबालिकालाई समयमै अस्पताल नपुर्याइँदा स्वास्थ्यमा जटिल अवस्था आउनसक्ने चिकित्सकहरू बताउँछन् । ८० दिनका ती शिशुलाई पनि परिवारका सदस्यले निकै ढिलो अस्पताल पुर्याएका थिए । बाल मुटुरोगसम्बन्धी चिकित्सकका अनुसार लक्षणको अज्ञानता र आर्थिक बोझका डरले पनि बालबालिकाले समयमै उपचार पाउनबाट वञ्चित छन् । 

महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्रै वार्षिक दुई सय ५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ । यस्तै, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि दुई सयजनाको हाराहारीमा शल्यक्रिया हुन्छ । शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ । 



यो तथ्यांकले बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा रहेको देखाउँछ । बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा प्वाल हुने देखिएका छन् । प्वालको उपचार शल्यक्रिया नै हो । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बाल मुटुरोग विशेषज्ञ डा. मनीष श्रेष्ठले अस्पतालमा वार्षिक पाँच हजारभन्दा बढी बालबालिका मुटुको समस्या लिएर आउने गरेको जानकारी दिए ।



विश्वव्यापी तथ्यांकअनुसार, जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जनामा यो रोग हुन्छ । आमाको गर्भमा हुर्किरहेको शिशुको मुटुको रक्तनली, मुटुको तल र माथिको पर्दा, मुटुका भल्भको अस्वाभाविक विकासक्रमबाट जन्मजात मुटुरोग हुन्छ ।

चिकित्सकका अनुसार जन्मजात मुटुरोग हुँदा मुटुको कोठाबीचका पर्दाहरूमा प्वाल पर्ने, रक्तनली र भल्भ खुम्चिने, रक्तनली उल्टो दिशाबाट विकसित हुने, भल्भ आंशिक वा पूर्ण रूपमा बन्द हुने र मुटुको दायाँ वा बायाँ भाग अविकसित हुने समस्या देखिन्छन् । प्रविधिका कारण गर्भमै रहँदा बच्चामा मुटुको समस्या भए–नभएको थाहा पाउन सकिन्छ । जसलाई ‘फिटल इकोकार्डियोग्राफी’ भनिन्छ । 



सरकारले दिने सुविधाबारे बेखबर छन् जनता ?

सरकारले १५ वर्षमुनिका बालबालिकामा मुटुरोग देखिए निःशुल्क उपचारको व्यवस्था गरेको छ । यो उमेर समूहभित्रका बालबालिकामा देखिने मुटुका जस्तो पनि रोगको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । त्यसका लागि जन्मदर्ता, आमाबुबाको नागरिकता र स्थानीय सरकार (पालिका)ले सिफारिस गरेको पत्र हुनुपर्छ । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले शल्यक्रियाका लागि आउने अधिकांश बालबालिकाको मुटुमा प्वाल हुने गरेको बताए । उनका अनुसार बाल मुटुरोगका विभिन्न प्रकारमध्ये बाथ मुटुरोग धेरै बालबालिकामा हुने गर्दछ । डा. भट्टराईले पाँचदेखि १५ वर्षका बालबालिकामा बाथ मुटुरोग लाग्ने गरेको जानकारी दिँदै त्यो जन्मजात हुने र कतिपयलाई पछि हुने मुटुरोग लाग्ने बताए ।

यता डा. श्रेष्ठ मुटुरोग भएका बालबालिका समयमै अस्पताल पुग्ने संख्या न्यून रहेको बताउँछन् । उनी भन्छन्, ‘गम्भीर समस्या देखिएपछि मात्र अधिकांशले आफ्ना बालबालिकालाई उपचारका लागि अस्पताल पुर्याउने गरेका छन् ।’ 

चिकित्सकका अनुसार सबै मुटुरोगको लक्षण सुरुवातमै देखिँदैनन् । रोगको जटिलताअनुसार दिन, केही साता वा केही वर्षपछि पनि रोगका लक्षण देखिन सक्छन् । जसकारण जन्मिएको केही समयमै शल्यक्रिया गर्नुपर्ने शिशु बढी प्रभावित हुने गर्छन् ।

उपचारपछि निको हुन्छ मुटुरोग

समयमा उपचार गर्न सकिए सो रोग निको हुन्छ । यदि समयमा नै उपचार गर्न सकिएन भने औषधि उपचार र शल्यक्रियामा समस्या आउने चिकित्सक बताउँछन् । रोगको प्रवृत्तिअनुसार उपचार विधिहरू छुट्टाछुट्टै हुन्छन् । गम्भीर प्रकारका रोगलाई सजिलो गराउन सकिन्छ । साधारण छ भने औषधिले पनि निको बनाउन सकिने उनीहरूको भनाइ छ ।

‘बाबुआमामध्ये कसैमा मुटुरोग लागेको भए उनीहरूबाट जन्मिने बच्चामा मुटुमा प्वाल पर्ने, मुटुका नसा उल्टो हुने, कडाभन्दा कडा खालका मुटुरोग लाग्न सक्नेजस्ता वंशाणुगत मुटुरोगको सम्भावना हुन्छ,’ डा. श्रेष्ठले भने । उनका अनुसार जन्मजात मुटुरोग लागेका बालबालिका उपचारपछि पूर्ण रूपमा निको हुन्छन् । जन्मजात लाग्ने मुटुरोग सामान्यदेखि कडा हुने भए पनि मुटुमा हुने प्वाल उपचारपछि निको हुने उनको भनाइ छ । यससँगै कडा खालका मुटुरोग भएका बालबालिका भने पूर्ण रूपमा निको हुने सम्भावना न्यून हुने डा. श्रेष्ठले बताए ।

यस्तै, डा. भट्टराईका अनुसार अवस्था जटिल छ भने दुई प्रकारका शल्यक्रियामार्फत पनि रोग निको गर्न सकिन्छ । समस्या भएको ठाउँमा हात–खुट्टाको नसाबाट तार छिराएर शल्यक्रिया गर्न सकिन्छ । ‘भल्बको समस्या भए बेलुनको माध्यमबाट खोल्ने, प्वाल छ भने मुटुमा ‘डिभाइस’ लगेर राखिदिनुपर्छ,’ डा. भट्टराईले भने । 

उनका अनुसार अर्को विधि भनेको ओपन हाट सर्जरी हो । कुनै बच्चाको मुटुमा दुई–तीनवटा रोग हुन सक्छन् । नसाबाट शल्यक्रिया गर्न नसकिने रोगहरू मुटु चिरेर (ओपन हाट सर्जरी) गर्नुपर्ने हुन्छ । उपचार गरेपछि बच्चामा हुने ७० प्रतिशत रोग पूर्ण रूपमा निको हुने उनको भनाइ छ । 

सुधारोन्मुख मुटुरोग उपचार 

हाल नेपाल मुटुरोगको उपचार सुधारोन्मुख अवस्थामा छ । ९० देखि ९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव हुन्छ । मुटु प्रत्यारोपणबाहेक अन्य मुटुसम्बन्धी उपचार नेपालमै हुँदै आएको छ । 

डा. भट्टराईले मुटुका सामान्य प्रकृतिका रोगको लक्षण नै देखा नपर्न सक्ने भएकाले अभिभावक सजग रहनुपर्ने बताए । डा. भट्टराई भन्छन्, ‘जन्मजात रूपमा नै मुटुरोग भएका बालबालिकाको उमेर अनुसार तौल नबढ्ने, शरीरका विभिन्न अंग नीलो हुने, राम्रोसँग खान नसक्ने तथा राम्रोसँग दूध नचुस्ने, रूघाखोकी धेरै लागिरहनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुन सक्छ ।’ 

यस्तै, डा. भट्टराईले मुटुमा प्वाल परेको अवस्थामा मुटुको ढुकढुकी थाहा हुने, स्वाँस्वाँ हुने, थोरै काम गर्दा पनि धेरै थकाइ महसुस हुनेजस्ता समस्या देखिने बताए । यस्ता लक्षणमा कालान्तरमा हृदयाघात गराउने भन्दै मुटुरोग भएमा छातीको देब्रे भागमा दुखिरहने उनको भनाइ छ ।

उनका अनुसार जन्मजात मुटुरोगको उपचार गर्न जनशक्तिका साथै उच्च प्रविधिको क्याथल्याब उपत्यका बाहिरका अस्पतालमा विस्तार गरिनु आवश्यक रहेको छ । हाल मनमोहन र गंगालालमा मात्र रहेको शल्यक्रिया बिना हात या खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर समस्याग्रस्त मुटुको प्वाल टाल्ने उपचार पद्धति ‘ट्रान्स क्याथेटर इन्टरभेन्सन’लाई काठमाडौंबाहिर पनि विस्तार गर्न आवश्यक रहेको डा. भट्टराईले औँल्याए । 

  • प्रकाशित मिति : साउन ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया